मेहेलकुना। गुर्भाकोट नगरपालिकामा कोरोनाको लक्षण देखिएका बिरामीहरूले पिसिआर परीक्षणका लागि दिएको स्वाबको रिपोर्ट झण्डै २ हप्ता सम्म नआउने गरेको पाइएको छ। बैशाख गते शुक्रवार स्वाब संकलन गरि पठाइएकोमा ९ दिन बितिसक्दा समेत रिपोर्ट नआएको हो।

गुर्भाकोट नगरपालिका वडा नं ६ का एक स्थानीयवासीले बैशाख २४ गते आफूले स्वाब दिएको र हालसम्म परीक्षणको नतिजा प्राप्त नगरेको गुनासो गरे। गुर्भाकोट नगरपालिकमा नगर स्वास्थ्य शाखाले साताको दुई दिन सोमबारशुक्रवार निशुल्क पिसिआर परिक्षण गर्दै आइरहेको छ।

नगर स्वास्थ्य शाखा गुर्भाकोटका अनुसार यहाँ स्वाब मात्रै संकलन गरिने र उक्त स्वाबको परिक्षण प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिने भएकाले सामान्यतयाः दुइदिनमा रिपोर्ट प्राप्त हुन्छ। शाखाले दुई दिनमा रिपोर्ट प्राप्त हुने दाबी गरेपनि वैशाख २४ गते र २७ गते परीक्षणका लागि स्वाब दिएका बिरामीहरूले हालसम्म रिपोर्ट प्राप्त गर्न सकेका छैनन्। शाखा प्रमुख महेश कुमार पुरीका अनुसार २४ गते स्वाब संकलन गरिएकाहरू मध्ये केही रिपोर्ट ४ दिन पहिले नै आइसकेको र केहीको रिपोर्ट शनिवार आइपुगेको छ। परीक्षणका लागि पठाएको केही स्वाबको रिपोर्ट ९ दिन पछि शनिवार प्राप्त गरिएको भएपनि २४ र २७ गते परिक्षण गरिएका मध्ये अझै ६८ जनाको रिपोर्ट आउन बाँकी रहेको पुरीले स्वीकार गरे।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा Extraction Kit सकिएका कारण यसपटकको परीक्षणको नतिजा आउन ढिला भएको पुरीले बताए। आउन बाँकी रहेको ६८ जनाको परिक्षण रिपोर्ट पनि चाँडै आउने पुरीको दाबी छ।

नगरपालिका भित्रनै संक्रमण दर र मृत्युदर बढेको भयावह परिस्थितिमा नागरिकले परीक्षणको नतिजाकै लागि झण्डै दुई साता कुर्नुपर्ने बाध्यता छ।

परीक्षणका लागि स्वाब दिएका तर रिपोर्ट प्राप्त नगरेका एक स्थानीय भन्छन्, ‘गुर्भाकोटमा पिसिआर परिक्षण गरेको रिपोर्ट या त मृत्यु भएपछि आउँछ या त सन्चो भएपछि।’ उनले निशुल्क परीक्षणको नारा भजाउने तर रिपोर्ट मृत्यु शैय्यामा पुग्दा समेत नआउने भयावह परिस्थितिको अन्त्यका लागि पहल गर्न नगर सरकारसँग आग्रह समेत गरेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।