सुर्खेत। नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले कमी कमजोरी सच्याउँदै जिम्मेवारी बोध गर्न आग्रह गरेका छन्। एक वर्ष अगाडि नै विज्ञहरूले कोरोनाको दोश्रो लहर आउने बताउँदा पनि त्यसको पर्याप्त तयारी नहुनु दुखद भन्दै खड्काले राजनीतिक नेतृत्वलाई सचेत रहन आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुक मार्फत संघीय सरकार र प्रदेश सरकारलाई अनुरोध गर्दै महामन्त्री खड्काले अक्सिजन अभावका कारण नागरिकले ज्यान गुमाईरहेको र बिरामीको उपचारमा कठिनाइ परिरहेको प्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।

एक वर्ष अगाडि नै विज्ञहरूले दिएको सुझावको वेवास्ता गरि अस्पतालमा बेड, अक्सिजन र भेन्टिलेटरको प्रबन्ध नगर्नु संघीय र प्रदेश सरकारको चरम लापरवाही भएको खड्काले उल्लेख गरेका छन्।

कर्णाली प्रदेश अस्पतालमा हिजो केही घन्टा भएको अक्सिजनको अभाव लाई प्रमुख जिल्ला अधिकारीको समन्वयमा सबै तरिकाको प्रयत्न बाट नेपालगन्जबाट राति देखि बिस्तारै अक्सिजन आपूर्ति शुरु भएकोले स्थिति भयावह हुनबाट केही कमी भएको पनि महामन्त्री खड्काले जानकारी गराएका छन्।

कोरोनाबाट नागरिकको जीवन रक्षा गर्न सबै राजनीतिक दलहरू एकतावद्ध भएर जुट्न पनि खड्काले अपिल गरेका छन्।

यस्तो छ खड्काको अपिल

संघीय सरकार र प्रदेश सरकार,


देशभरिका अस्पतालमा अक्सिजन अभाव भई रहेकै अवस्थामा कर्णाली प्रदेश अस्पतालमा र अन्य जिल्ला अस्पतालमा पनि अक्सिजन अभावका कारणले नागरिकले ज्यान गुमाउनुका साथै बिरामीको उपचारमा परेको कठिनाइ प्रति संघीय सरकार  र कर्णाली प्रदेश सरकारको  गम्भीर ध्यान आकर्षण गराउँदै अक्सिजन लगायतका स्वास्थ्य सामाग्री तत्काल व्यवस्था गर्न गम्भीर ध्यान आकर्षण गराउदछु।

एक वर्ष अगाडिको कोरोनाको महामारीको प्रकोप पश्चात् विज्ञहरूद्धारा कोरोनाको दोश्रो लहर आउन सक्ने दिएको सुझाव र सचेत गराएको कुरालाई हल्का रुपमा लिई पर्याप्त समय हुँदाहुँदै अस्पालमा बेड,अक्सिजन र भेन्टिलेटरको प्रबन्ध नगर्नु संघीय र प्रदेश सरकारको चरम लापरबाही हो, जसका कारण नागरिकको जीवन दिन प्रतिदिन असुरक्षित हुदैछ।

गल्ति कमी कमजोरी सच्याउँदै हामी सबै समय छँदै जिम्मेवारी बोध गरौँ र सचेत बनौ।

कर्णाली प्रदेश अस्पतालमा हिजो केही घन्टा भएको अक्सिजनको अभाव लाई प्रमुख जिल्ला अधिकारीको समन्वयमा सबै तरिकाको प्रयत्न बाट नेपालगन्जबाट राति देखि बिस्तारै अक्सिजन आपूर्ति सुरु भएकोले स्थिति भयावह हुनबाट केही कमी भएको छ।

कोरोना बाट नागरिकको जीवन रक्षा गर्न सबै राजनीतिक दलहरू एकताबद्ध भएर जुटौं।

 ‘ कोरोनाबाट आफू बचौ, अरुलाई पनि बचाऔँ ‘

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।