काठमाण्डौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता माथि प्रश्न उठाएका छन्। शनिवार सामाजिक सञ्जालमा लेख्दै मिश्रले महाव्याधिको महासंकटका बेला तीनै तहका सरकारहरूको भूमिका शून्यप्रायः देखिएको भन्दै संघीयता माथि प्रश्न उठाएका हुन।

संघीयता स्थानीय सुशासन, विकास र सशक्तिकरणका लागि चाहिएको भन्दै मिश्रले संकटका बेला हरेक नागरिकले औषधि, अक्सिजन, अस्पताल, बेड, खाना, नाना‍, पैसा सबै आफैँ जोहो गर्नु परेको स्थिति विडम्बनापूर्ण भएको बताए।

देशका शीर्ष भनिने नेताहरु सरकार जोगाउने र ढलाउने कोठे संवादमा व्यस्त भएको भन्दै मिश्रले हजारौँ स्थानीय जनप्रतिनिधिको व्यापार, व्यवसाय र कमिसन बढाउन र सिंहदरबारको भ्रष्टाचार गाउँगाउँ पुर्याउने संघीयता आवश्यक नरहेको बताए। यद्यपि स्थानीय सुशासन, विकास र सशक्तिकरणका लागि भने संघीयता आवश्यक रहेको मिश्रको तर्क छ।

यस्तो छ मिश्रको फेसबुक स्टाटस

संघियता केका लागि?

संघीयता चाहिएको स्थानीय सुशासन, विकास र सशक्तिकरणका लागि हो। देश महाव्याधिको महासंकटमा छ। तर यो संकटका बेला हरेक नागरिकले औषधि, अक्सिजन, अस्पताल, बेड, खाना, नाना‍, पैसा सबै आफैँ जोहो गर्नु परेको छ।

शीर्ष भनिने नेताहरू सरकार जोगाउने र ढलाउने कोठे संवादमा व्यस्त छन्। बाहिर जनता मरिरहेका छन्। मानवता नै नभएकाहरुमा समानुभूतिको भाव हुने त कुरै भएन। तर ‘भोली फेरी जनअनुमोदित हुने त हामी नै हौ’ भन्नेमा उनीहरू ढुक्क छन्।

होली वाइनले नुहाउँदा, सबै सफा नै रहे। ओम्नी, यती, बालुवाटार, लाउडा, धमिजा, सांसद किनबेच जस्ता काण्डले थिच्दा सबै मुस्कुराउँदै तंग्रिए। संविधान कुल्चिँदा, संविधानमाथि उनीहरू नै शानका साथ उभिए। ताली बजाइदिनेहरूको कमी नभएपछि कु-पथमा हिँडिरहेकाहरूलाई सपथका शब्द अटेर गर्दा के नै फरक पर्थ्यो र? यिनले जनताको, एउटा पुस्ताको मात्र होइन, सिंगो देशको र देशको भविष्यको नै हुर्मत लिइरहेका छन्।

संघीयता केका लागि हो? स्थानीय सरकार केका लागि हो? हजारौँ स्थानीय जनप्रतिनिधिको व्यापार, व्यवसायकमिसन बढाउन? सिंहदरबारको भ्रष्टाचार गाउँगाउँ पुर्याउन?
संकेत शुभ छैनन्। समयमै चेतना भया!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।