कालिमाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्री


रामपुर। सल्यानको कालिमाटी गाउँपालिकामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको छ। पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीबहादुर खत्रीले बिहीवार सूचना जारी गर्दै कोरोना संक्रमण रोक्न अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको जानकारी दिए।

पालिकामा कार्यरत केही कर्मचारी तथा केही स्थानीयवासीहरूमा समेत कोरोना संक्रमण देखिएको र गाउँपालिका क्षेत्र कोरोनाको उच्च जोखिममा रहेको हुँदा जेठ २ गते देखि लागू हुनेगरि अनिश्चित कालसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिने सूचनामा उल्लेख छ। प्रमुख प्रशासकीय अधिकृत खत्रीका अनुसार यो अवधिभर गाउँपालिका कार्यालय, सम्पूर्ण वडा कार्यालयहरू, पालिका भित्रका सम्पूर्ण सरकारी तथा गैर सरकारी संघसंस्थाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहनेछन्।

यसअघि पालिकाले १ साता सम्मका लागि बिहान ११ बजेदेखि १ बजेसम्म सेवा प्रवाह गर्दै आएको थियो। तर जोखिम बढ्दै गएपछि सेवा बन्द गर्नुको विकल्प नरहेको प्रमुख प्रशासकीय अधिकृत खत्रीले बताए।  पालिकाले सेवाग्राहीमा पर्नजाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।

बैंक तीन दिन मात्र खोल्न निर्देशन

पालिकाले पालिका क्षेत्रभित्र सेवा दिँदै आएको नेपाल बंगलादेश बैंक लिमिटेडलाई पनि सातामा ३ दिन मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। प्रशासकीय अधिकृत हरीबहादुर खत्रीले बिहीवार बैंकलाई पत्र लेख्दै  पालिका कोरोनाको उच्च जोखिममा रहेकाले अर्को सूचना जारी नभएसम्मका लागि सातामा ३ दिन मात्र बैंक सञ्चालन गर्न अनुरोध गरेका छन्।

प्रशासकीय अधिकृत खत्रीले बैंकलाई पठाएको पत्र अनुसार सातामा आइतबार, मंगलबार र विहीबार मात्र बैंकले आफ्नो सेवा प्रवाह गर्नेछ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।