मेहेलकुना। कोरोना संक्रमण नियन्त्रण रोकथामका लागि प्रतिकार्य योजना अनुरूप गुर्भाकोट नगरपालिकाको नगर स्तरीय विपद व्यवस्थापन समितिले विभिन्न ७ ओटा निर्णय गरेको छ। नगरपालिका भित्र सङ्क्रमणको दर र मृत्युदर समेत बढ्दै गएपछि बिहीवार नगरपालिकामा बसेको विपद व्यवस्थापन समितिको बैठकले नगरपालिका क्षेत्र भित्र कडा लकडाउन गर्ने निर्णय गरेको छ।

बैठकले कोरोना सङ्क्रमणको चेन ब्रेक गर्न जेठ १ गते देखि १५ गतेसम्म नगर क्षेत्रभित्रका बैंक, वित्तिय संस्था, सहकारी र सार्वजनिक निर्माण कार्य समेत पूर्णरूपले बन्द गर्ने निर्णय गरेको छ। यद्यपि नगर क्षेत्र भित्रका कृषकले उत्पादन गरेका तरकारी, फलफूल र दूधजन्य पदार्थका पसलहरू बिहान ६ देखि ८ बजेसम्म सञ्चालन हुनेछन्। यसअघि दैनिक रुपमा बिहान ९ बजेसम्म खाद्यान्न पसलहरू समेत सञ्चालन हुँदै आएका थिए।

विपद व्यवस्थापन समिति बैठकले नगरपालिका अन्तर्गत गुमी स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्सलाई नगरपालिकाको प्रत्यक्ष निगरानीमा राखी कोरोना संक्रमितहरुलाई निशुल्क ओसारपसार गर्ने निर्णय गरेको छ। एम्बुलेन्स सञ्चालन वापत लाग्ने खर्च (चालकको तलब भत्ता, मर्मत, इन्धन) बैशाख महिनाभरका लागि नगरपालिका कार्यालयले व्यहोर्ने र जेठ महिना देखि लाग्ने खर्च मेहेलकुना अस्पतालले व्यहोर्ने सहमति समेत भएको छ नगर उपप्रमुख मैना बि.क.ले न्यूजपाटीलाई जानकारी दिइन्। उपप्रमुख बि.क.का अनुसार कोरोना संक्रमितलाई पोषणको व्यवस्था र कोरोना सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई काजकिरिया वापतको राहत व्यवस्थापन नगरपालिकाले गर्नेछ।

बैठकले नगरपालिका भित्रका नागरिकहरूलाई कोरोना सङ्क्रमणबाट बचाउन विवाह, सांस्कृतिक कार्यक्रम, पुजा, पर्व पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ। नगर क्षेत्र भित्र उपस्थित हुनुपर्ने मृत्यु संस्कारका लागि महिला र पुरुष गरि  २५ जना मात्र जाने व्यवस्था मिलाउने र कोरोना सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिलाई घाटसम्म पुर्याउन नगरपालिकाले सवारी साधनको व्यवस्था गर्ने निर्णय समेत बैठकले गरेको छ।

बैठकमा नगरस्तरीय विपद व्यवस्थापन समितिका अध्यक्ष तथा नगर प्रमुख हस्त पुन, उपप्रमुख मैना बि.क., नगर कार्यपालिकाका सदस्यहरू र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो।

यस्ता छन् नगर स्तरीय विपद व्यवस्थापन समितिले कोरोना नियन्त्रण रोकथामका लागि गरेका ७ निर्णयः

१. यस नगरपालिका अन्तर्गत गुमी स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्सलाई नगरपालिकाको प्रत्यक्ष निगरानीमा रही एम्बुलेन्स सञ्चालन खर्च (चालकको तलब भत्ता, इन्धन, मर्मत) २०७८ वैशाख महिना सम्मको खर्च नगरपालिकाले व्यहोर्ने र २०७८ जेठ देखि आषाढ मसान्त सम्मको मेहेलकुना अस्पतालले व्यहोर्ने गरि उपलब्ध गराउने र संक्रमित बिरामीलाई निशुल्क ओसारपसार गर्ने निर्णय गरियो।

२. कोरोना संक्रमण रोकथाम नियन्त्रण गर्न यस नगरपालिकाले आवश्यकता अनुसार स्वास्थ्य सामाग्री व्यवस्थापन गर्ने निर्णय गरियो।

३. यस नगरपालिका भित्रका नागरिकहरूलाई कोरोना सङ्क्रमणबाट बचाउन विवाह, सांस्कृतिक कार्यक्रम, पुजाहरुलाई पूर्णरुपमा बन्द गर्ने र मृत्यु संस्कारका लागि महिला पुरुष गरि २५ जना मात्र जाने व्यवस्था मिलाउने र कोरोना सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिलाई घाटसम्म पुर्याउन साधनको व्यवस्था नगरपालिकाले गर्ने निर्णय गरियो।

४. विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको चेन ब्रेक गर्न मिति २०७८ जेठ १ गते देखि २ हप्ता सम्म नगरपालिकास्थित बैंक, वित्तिय संस्था, सहकारी र सार्वजनिक निर्माण कार्य समेत बन्द गर्ने निर्णय गरियो।

५. यस नगरपालिका भित्र कोरोना संक्रमणले होम तथा अस्पतालको आइशोलेसनमा बसेका नागरिकको अवस्था हेरी पोषण एवं खाना खर्च वापत स्थानीय वडा विपद समितिबाट सिफारिस भई आएमा उपलब्ध गराउने निर्णय गरियो।

६. यस नगरपालिका भित्रका नागरिकले उपलब्ध गरेका कृषि तरकारी, फलफूलहरु र दूधजन्य पदार्थका पसलहरू बिहान ६ बजे देखि ८ बजे सम्म सञ्चालन गर्न दिने निर्णय गरियो।

७. माथि उल्लेखित सम्पूर्ण निर्णयहरु अनुसारको बजेट व्यवस्थापन गर्न नगर कार्यपालिकामा पठाउने निर्णय गरियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।