काठमाडौं। यात्रुसँग तोकिएको भन्दा तीन गुणासम्म बढी भाडा लिने दुई जनालाई आज काठमाडौँको कलङ्की र नयाँ बसपार्कबाट पक्राउ गरिएको छ। उनीहरुले उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिर जाने यात्रुबाट बढी भाडा लिएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

पक्राउ पर्नेमा सप्तकोशी काउण्टर कलङ्कीमा काम गर्ने बाराका ४१ वर्षीय हृदयनारायण साह र नयाँ बसपार्कबाट बर्दियाका ३५ वर्षीय कृष्ण चौधरी रहेका छन। साहले ना ६ ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तीन गुणासम्म बढी भाडा लिएका थिए। पक्राउ परेका चौधरीले बर्दिया जाने यात्रुहरुसँग प्रति व्यक्ति तीन हजारसम्म लिने गरेको पाइएको छ। उनले ना ७ ख ४९२० नम्बरको बसमार्फत बर्दिया जाने यात्रुसँग बढी भाडा लिएको पाइए पछि पक्राउ गरेको महाशाखाले जनाएको छ।

दैनिकजसो बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरुलाई निगरानी गरी हालसम्म महाशाखाले २८ जनालाई कारबाहीको दायरामा ल्याएको जनाएको छ।

महाशाखले निषेधाज्ञा लागु भए पश्चात बढी भाडा लिइ यात्रु ठग्ने विरुद्ध कारबाही अभियान सञ्चालन गरी छुट्टै डेडिकेटेड टिम परिचालन गरेको छ। उक्त टोलीले सुचना सङ्कलन गर्ने, निगरानी गर्ने, यात्रु बनी भाडा बार्गेनिङ्ग गर्ने, गोप्य रुपमा बुझ्ने र यात्रु ठग्नेलाई पक्राउ गर्ने गरेको महाशाखा प्रमुख एसएसपी भट्टराईले बताए। विभिन्न मितिमा निषेधाज्ञा पश्चात गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर र गौशाला क्षेत्रबाट यसरी यात्रु ठग्नेलाई ट्राफिक प्रहरीले पक्राउ गरेका छ।

उपप्रधानमन्त्रीबाट चौलागाईंलाई श्रद्वाञ्जलि

काठमाडौं। उपप्रधानमन्त्री एवं नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीका दिवंगत केन्द्रीय सदस्य पशुपति चौलागाईंप्रति श्रद्वाञ्जली अर्पण गरेका छन्।
एमालेको थापाथलीस्थित केन्द्रीय कार्यालय पुगेर उपप्रधानमन्त्री पोखरेलले श्रद्वाञ्जललि अर्पण गर्दै निष्ठाका साथ आफ्नो सम्पूर्ण जीवन पार्टीमा बिताउने एकजना असल नेता गुमाउनुपरेको बताए।

तीन दिन अघिमात्रै स्वास्थ्यका बारेमा आफूले उनीसँग गरेको कुराकानी अहिलेजस्तो लागिरहेको उल्लेख गर्दै पोखरेलले चौलागाइँसँग लामो समयदेखि रहँदै आएको हार्दिकतापूर्ण सम्बन्धलाई सधैँ सम्झने बताए।

कोरोनाका कारण निधनु भएका बाग्मती प्रदेशसभा सदस्य चौलागाईंले २०३८ साल मङ्सिर ८ गते पार्टी सदस्यता प्राप्त गरेका थिए। उनी पार्टीको तत्कालीन युवा सङ्घको केन्द्रीय अध्यक्ष, नेकपा (एमाले) को दोलखा जिल्ला कमिटी अध्यक्ष, बागमती अञ्चल कमिटी सचिव, इञ्चार्ज हुँदै पार्टीको पोलिटब्युरो सदस्य भएका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।