काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखा जिल्लाको एकै परिवारका तीन दिदीबहिनीले विश्वको सगरमाथाको आरोहण गर्न सफल भएकामा बधाई ज्ञापन गरेका छन्। दोलखा, गौरीशंकर गाउँपालिका–९ बेदिङका निमाजाङ्बु (३०वर्ष), छिरिङनाम्गे (२६वर्ष) र दावाफुटी शेर्पा (२४वर्ष) आज बिहान सर्वोच्च शिखरमा पुग्न सफल भएका हुन्।

“एकै परिवारका तीन छोरी सगरमाथाको चुचुरामा पुग्न सफल भएका छन्, मलाई असाध्यै खुशी लागेको छ, म हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु”, मन्त्री गुरुङले भने, “तीन वर्षभित्र सात वटै महादेशका हिमाल चढेर विश्व रेकर्ड कायम राख्ने उहाँहरुको योजना पूरा होस्।”

सगरमाथा आरोहणका लागि काठमाडौंँबाट जाने क्रममा यही वैशाख २ गते राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सरकारका प्रवक्ता गुरुङले उनीहरुलाई शुभकामना दिएका थिए।

आजै सोही गाउँका पेम्बादोर्जे शेर्पाले बिहान ७ बजे २१ औंँ पटक सगरमाथाको सफल आरोहण गरेका छन्। ड्रिमर्स डेष्टिनेशन ट्रेक एण्ड एक्सपिडिशनका अनुसार पेम्बाले ‘विश्व शान्ति र वातावरण बचाऔँँ’ भन्ने सन्देशका साथ सगरमाथा चढेका हुन्।

पूर्वमन्त्रीको पहलमा निशुल्क कोभिड–१९ सेवा केन्द्र सञ्चालन

काठमाडौं। नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा १०० शय्याको निःशुल्क कोभिड–१९ सेवा केन्द्र स्थापना गरिने घोषणा गरेका छन्। जिल्लाका समाजसेवी, बुद्धिजीवी, व्यवसायी र केही स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरी एक महिना भित्र नै सेवा सञ्चालन गरिने उनले जानकारी दिए।

उनले भने, “सेवा केन्द्रमा अक्सिजन र भेन्टिलेटरको व्यवस्था हुनेछ। निकट भविष्यमा पिसिआर मेसिन पनि राखिने छ। भविष्यमा कोभिड–१९ रोग नियन्त्रणमा आएपछि यो केन्द्र सरुवा रोग नियन्त्रण केन्द्रका रूपमा रूपान्तरण हुने छ। विस्तृत जानकारी कामको स्थलगत प्रक्रिया शुरु भएपछि गराउने छु।”
पूर्वमन्त्री बस्नेतले आफूसँग भएको एउटा गाडी (जीप)बाट सिन्धुपाल्चोकमा कोडिड–१९ या अन्य रोग लागेका बिरामीलाई अस्पताल पु¥याउन दिने निर्णय गरेका छन्। गाडी आफूले फिर्ता नलिने गरी प्रदान गरिने उनले बताए।

उनका अनुसार बिरामीले कुनै पनि सेवा शुल्क तिर्नु पर्दैन। एउटा सञ्चालक समिति बनाएर सबै व्यवस्था गरिने छ। कोभिड–१९ संक्रमितहरु अस्पतालमा शय्या, अक्सिजन, भेन्टिलेटर, पर्याप्त विज्ञ र स्वास्थ्यकर्मी नपाएर मृत्युवरण गर्न बाध्य भएका परिस्थितिमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै उनले जनस्तरबाट पनि केही गर्नुपर्ने सोच राखी आफूले सो कार्य गर्न लागेको बताए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।