काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्य सामग्री तथा उपकरण आयातका लागि हवाई ढुवानी प्रबन्ध गर्न सरकारसँग माग गरेको छ। नेपाली कम्पनीले खरीद गरेका स्वास्थ्य सामग्री तथा उपकरण हवाइजहाजका अभावका कारण नेपाल ढुवानी हुन नसकी चीनका विभिन्न विमानस्थलमा अलपत्र अवस्थामा रहेको जनाउँदै कांग्रेसले सो माग गरेको हो।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज वक्तव्य जारी गरी अविलम्ब स्वास्थ्य सामग्री तथा उपकरणको हवाई ढुवानीको प्रबन्ध गरी सहजीकरण गर्न सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनले कोभिड–१९ महामारीको कारणले दिनानुदिन संक्रमित र मृत्यु हुने वृद्धि हुँदै गइरहेका परिस्थितिमा जनतालाई स्वास्थ्य सामग्री अभाव हुन नदिई कोभिड–१९ संक्रमित र अन्य बिरामीको उपचार गर्नुपर्नेमा जोड दिएका छन्।

भोज आयोजना गर्ने बेहुला पक्राउ

पर्वत। जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन्। कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन्।

मंगलबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको छ। उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना छन्।

जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०÷४० गाउँले भेला भएको प्रहरीले जनाएको छ। प्रहरी पुगेपछि सहभागी भागाभाग भएका थिए। प्रहरीले सबै भागेपछि दुई बेहुलालाई समातेर आवश्यक कारवाहीपछि छाड्ने जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको बताए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।