मेहेलकुना। गुर्भाकोट नगरपालिकामा कोरोना संक्रमणका कारण एक शिक्षकको निधन भएको छ। गुर्भाकोट ८ घर भई गुर्भाकोट ७ स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कोप्चीमा प्रधानाध्यापकको रुपमा कार्यरत शिक्षक टेकबहादुर खत्रीको कोरोना संक्रमणका कारण मंगलवार निधन भएको हो।

खत्रीलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज बाँके लगिएको थियो। उपचारकै क्रममा ५३ वर्षीय खत्रीको निधन भएको हो। खत्रीको बुधवार दाहसंस्कार गरिएको छ। उनका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन्।

खत्रीको निधनमा शिक्षक महासंघ गुर्भाकोट र गुर्भाकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले शोक वक्तव्य जारी गरेका छन्। शाखाले जारी शोक वक्तव्यमा एक अनुभवी, कर्तव्यनिष्ठ, दक्ष शिक्षक एवं कुशल व्यवस्थापकको निधनले गुर्भाकोटको शिक्षा क्षेत्रमा अपुरणीय क्षति भएको उल्लेख छ। ”शिक्षक खत्रीले गुर्भाकोटको शैक्षिक क्षेत्रमा दिएको २७ वर्ष लामो योगदानको उच्च सम्मान उच्च सम्मान गर्दै श्रद्धाञ्जली व्यक्त गर्दछौँ।” वक्तव्यमा उल्लेख गरिएको छ।

यस्तै नेपाल शिक्षक महासंघ गुर्भाकोटले खत्रीको निधनको खबरले महासंघ स्तब्ध भएको जनाएको छ। महासंघ गुर्भाकोटका अध्यक्ष कृष्णप्रकाश आरसीले स्व. खत्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।