काठमाण्डौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले अपराधीहरूले दिएको राजनीतिक नियुक्ति खानु भन्दा आनन्दी मनले साग र सिस्नु खानु बेस भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा आइतबार स्टाटस लेख्दै मिश्रले संवैधानिक परिषदले विभिन्न आयोगहरूमा गरेको नियुक्तिप्रति रोष प्रकट गरेका हुन्।

मिश्रले चरम भ्रष्टाचार र कुशासनका कारण अप्रत्यक्षरूपमा जति नागरिकको ज्यान जान्छ, जति नागरिक गरीबीमा पिल्सिएर जीवन बिताउन बाध्य हुन्छन्, त्यसका कारकहरूलाई अपराधी होइनन् भनेर मान्न नसकिने बताएका छन्।

यसअघि संवैधानिक परिषदको बैठकले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ। रेग्मी नेकपाको एकता भंगको फैसला गर्ने सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन्। कतिपयले प्रधानमन्त्री ओलीले उनलाई नियुक्ति दिएर नेकपा विभाजनको फैसलाको गुन तिर्न खोजेको टिप्पणी गरेका छन्।

रेग्मीले नियुक्ति पाएको समाचार सार्वजनिक भएसँगै मिश्रले यो अपराधीहरूले दिएको नियुक्ति भएको टिप्पणी गरेका हुन्।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।