काठमाडौं। सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ। उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा शुकबार बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याउन थालेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।

सिलिन्डर ल्याउनका लागि यही वैशाख २७ गते नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको हो। बीस हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ। नेपाल सरकारको अनुरोधमा चीन सरकारले निःशुल्क ती सिलिन्डर ल्याउन थालेको हो। नेपालमा अहिले अक्सिजन सिलिन्डर ६ हजार २ सय ८८ रहेको र दैनिक १ हजार ४ सय ११ दशमलव ५ लिटर खपत भइरहेको जनाइएको छ।

तिब्बत सरकारसँग कोभिड नियन्त्रणका लागि सहयोग माग

ताप्लेजुङ। कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि ताप्लेजुङले डिङ्जे काउन्टी तिब्बत सरकारसँग आज सहयोग माग गरेको छ। तीव्र रुपमा कोभिड–१९ फैलँदै गएपछि नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग माग गरिएको हो।

ताप्लेजुङले डिङ्जे काउन्टी तिब्बत सरकारसँग डिस्पोजेबल मेडिकल मास्क २९ हजार थान, एन्टिना टेस्ट किट पाँच हजार थान, एन–९५ मास्क एक हजार थान, पिपीई सेट दुई हजार थान, थर्मल गन २०० थान, अक्सिजन सिलिन्डर १०० लगायत ११ प्रकारका अतिआवश्यक स्वास्थ्य सामग्री सहयोग माग गरिएको मागपत्रमा उल्लेख गरिएको छ।

दैनिक रुपमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणका लागि अतिआवश्यक स्वास्थ्य सामग्री तिब्बत सरकारसँग सहयोग माग गरिएको जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताए। फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता तथा तिब्बत जानकार छेतेन लामामार्फत मागपत्र पठाइएको प्रमुख मादेनले बताए। डिङ्जे काउन्टी तिब्बत सरकारले ताप्लेजुङमा विभिन्न विपत्का समयमा सहयोग गर्दै आएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।