सुर्खेत। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेश सरकारलाई ७ बुँदे सुझाव दिएका छन्। शुक्रवार सामाजिक सञ्जाल फेसबुक मार्फत कर्णाली सरकारलाई सम्बोधन गर्दै महामन्त्री खड्काले कोरोना संक्रमण रोकथामका लागि सुझाव दिएका हुन्।

कर्णाली सरकारलाई सुझाव दिदैं खड्काले करिब २ महिना अघि देखि भारतमा कोरोना महामारीले भयावह रूप लिन थालेको घटनाले नेपालीहरू भारतबाट तिव्रगतिमा कोरोना सहित प्रवेश गर्न सक्छन् भनी विगतको अनुभवबाट शिक्षा लिई कर्णाली प्रदेशको राजधानी  र कतिपय जिल्लाका स्थानहरू  कोरोना महामारीको हटस्पट बन्न सक्छन् भनेर २ महिना अघिनै अनुमान गरि, गर्न सक्ने पूर्वतयारी र ब्यवस्था समयमै नगर्नु  सरकारको ठूलो कमजोरी मात्र नभई लापरबाहि पनि पनि भएको उल्लेख गरेका छन्।  

महामन्त्री खड्काले नयाँ परिवेशमा हालै बनेको सरकारले विगतको काम गर्ने तरिका र मानसिकतामा आमूल परिवर्तन गरि प्रदेश सरकारको जुनसुकै कोषमा रहेको रकमलाई प्रयोग गरि कर्णाली प्रदेशका नागरिकको जीवन रक्षालाई प्रथम र अहिले लाई सरकारको एक मात्र लक्ष निर्धारण गरि युद्धस्तरमा सम्पूर्ण ब्यवस्था गर्न तर्फ गम्भीर बन्न प्रदेश सरकारलाई आग्रह गरेका छन्। खड्काले भने, ”नागरिकको जीवन रक्षा गर्ने पुनीत कार्यमा कर्णाली प्रदेश काँग्रेस संसदीय दल र सिँगो काँग्रेस पार्टी सरकारको साथमा रहने वचन र बिश्वास हामी सरकारलाई दिलाउन चाहान्छौ।”

कोरोना महामारी नियन्त्रण र रोकथाम गर्न अझ ब्यापक रुपमा कर्णाली प्रदेशमा क्रियाशील संसद्‌मा रहेको प्रमुख प्रतिपक्ष दल र अन्य सबै राजनीतिक दल एवं नागरिक समाज सबैलाई यो अभियानमा एकाकार गर्ने थप पहल र रणनीतिको निर्माण गर्न पनि खड्काले प्रदेश सरकारलाई अनुरोध गरेका छन्।

महामन्त्री खड्काले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका सबै प्रति नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले संक्रमित सबैको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे।

यस्ता छन् महामन्त्री खड्काका प्रदेश सरकारलाई ७ सुझावः

१. कर्णाली प्रदेशका कोरोना प्रभावित सबै जिल्लाका स्थानमा  तत्काल  पिसिआर परीक्षणलाई अभियानका रुपमा तिव्रता दिई कन्ट्रयाक्ट ट्रेसिङ      लाई व्यापक  बनाइयोस्।
२. अक्सिजन , भेन्टिलेटर र आवश्यक औषधीको अभाव हुन नदिन सबै प्रकार पँहुचको प्रयोग गरियोस।
३. प्रदेश  र जिल्ला अस्पतालहरूमा पर्याप्त बेडहरुको प्रबन्ध गर्न थप काम गरियोस।
४. विपन्न नागरिकहरूको सबै प्रकारको उपचार निशुल्क गर्ने व्यवस्था मिलाइयोस्।
५. दिनरात नभनी  बिरामीको जीवन रक्षा गर्न आफ्नो जीवनलाई खतरामा राखी अहोरात्र खटिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई उत्प्रेरित        गर्ने अन्य वातावरण निर्माणका साथै प्रदेश सरकारका तर्फबाट यथेष्ट अतिरिक्त आर्थिक सुविधा उपलब्ध तत्काल गराइयोस्।
६. स्थानीय सरकारहरूलाई प्रदेश सरकारका तर्फबाट थप बजेट उपलब्ध गराई यो अभियानमा समन्वयात्मक तरिकाले स्थानीय तहलाई थप           क्रियाशील बनाउने वातावरण निर्माण गरियोस।
७. निषेधाज्ञा जारी गरिएका कारणले दैनिक जीवन गुजारा गर्न नसक्ने मजदुर लगायत विपन्न परिवारहरूलाई बिहान बेलुकीको खाना समेतको        व्यवस्था गर्ने  गरि राहत प्याकेज व्यवस्था गरियोस।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।