पोखरा। राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि स्थगित भएको गण्डकी प्रदेशको प्रदेशसभा बैठक २७ गते बस्ने भएको छ। त्यसैदिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ।

कार्यव्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकमा सत्तारुढ नेकपा एमालेले २८ गते बैठक बोलाउन प्रस्ताव गरेको थियो। तर विपक्षी दलहरुले २६ गते नै बैठक बोलाउनु पर्ने अडान लिएपछि सभामुखले २७ गते बैठक राख्ने प्रस्ताव गरेका हुन्। सभामुखको प्रस्तावमा दलहरु सहमत भएपछि प्रदेश सभा बैठक २७ गते बस्ने भएको हो।

यसअघि १५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो। तर राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही एकाएक सम्पर्कविहीन भएपछि जनमोर्चाकी सचेतक पियारी थापाले बैठक रोक्न माग गर्दै निवेदन दिएपछि सभामुखले सूचना टाँसेर अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए।

उता प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन आवश्यक ठानेपछि राष्ट्रपतिको आह्वानमा बैशाख २७ गते नै प्रतिनिधि सभाको बैठक आह्वान गरिएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।