काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही हुने बताएका छन्। सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीवार सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पताल कारवाही भागीदार हुने स्पष्ट पारे।

“निजी अस्पतालमा सरकारले तोकेको दस्तुरअनुसार नै उपचार हुनुपर्छ, त्योभन्दा फरक भएको भन्ने सूचना पाएका छौंँ”, उपप्रधानमन्त्री पोखरेलले भने, “काठमाडौंका विभिन्न नामका अस्पतालले मनपरी ढंगले रकम लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंँले चेतावनी दिइसकेको छ, यदि त्यस्तो भेटिए कारवाही हुन्छ।”

सरकारी अस्पतालमा सबै कोरोना संक्रमितको निःशुल्क उपचारको व्यवस्था गरिएको समेत पोखरेलले जानकारी दिए।

अक्सिजनका खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउनुहोस्’

यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खाली प्राणवायु (अक्सिजन) को खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ। मन्त्रालयको अनुगमनका क्रममा धेरै सिलिण्डर खाली आफैं राख्ने गरेको पाइएकोले यस्ता खाली सिलिण्डर अस्पतालमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउन अनुरोध गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अनुगमनका क्रममा सिलिण्डर खाली राख्ने र भरेर पनि भण्डारण गरेर राख्ने भएकोले उद्योग व्यवसायी र सरोकारवालाले त्यस्ता सिलिण्डर अस्पताललाई उपलब्ध गराउन अनुरोध गरेका हुन्।

अक्सिजन सिलिण्डरको सङख्या छ हजार २ सय ८८ रहेको र दैनिक एक हजार ४ सय ११ दशमलव ५ लिटर खपत भइरहेको जनाइएको छ। उनका अनुसार धेरै भन्दा धेरै सिलिण्डर भरी नागरिकको ज्यान बचाउनका लागि अस्पताललाई उपलब्ध गराउनु भनिएको छ। मन्त्रालयले खाली र भरेर भण्डारण गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० को आधारमा अनुगन गरी कारवाही गर्ने जनाएको छ। उनले सङ्क्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन तथा अक्सिजन सिलिण्डर अझै पनि सरकारको निर्णय विपरीत धेरै उद्योगधन्दामा प्रयोग भइरहेको जनाएका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।