काठमाडौं। वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको ८४ वर्षका उमेरमा आज निधन भएको छ। छातीमा समस्या देखिएपछि वसुन्धरास्थित न्युरो अस्पताल काठमाडौँमा उपचाररत प्रधानको निधन भएको हो। पुख्र्यौली घर सिन्धुपाल्चोकको चौतारा भए पनि उनको जन्म काठमाडौंँको नःघलमा भएको थियो।

पिता रत्नध्वज र माता प्राणदेवीका कोखबाट विसं १९९४ मा जन्मनुभएका प्रधानले २००९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए। उनले गाएको विसं २०१७ मा तारादेवीसँगको युगल राष्ट्रिय गीत यो नेपाली शिर उचाली संसारमा लम्कन्छ, २०२१÷२०२२ सालतिरको घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको जस्ता गीत अझै पनि लोकप्रिय छन्। यस्तै यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो जस्ता लोकगीत पनि चर्चित छन्।

प्रधानले विसं २०२४ मा माइतीघर चलचित्रमा पहिलोपटक भारतीय गायिका उषा मंगेशकरसँंग गाएको नमान लाज यस्तरी जस्ता गीत अझै पनि सबैको जनजिब्रोमा झुण्डिएको छ।उनका हजुरबा नारायणकृष्ण र आमा सङ्गीतका पारखी भएकाले उनी सङ्गीतमय वातावरणमा हुर्किएका थिए।

उनी किशोरावस्थामा नारायणगोपालका साथ झण्डै एक महिना बिताउने गरी चौतारा गएको पारिवारिक स्रोतले जनाएको छ। उनले आधुनिक, लोकगीत, भजन तथा नेवारी गीत गरी एक हजारभन्दा बढी गीत गाएको बताइन्छ। प्रधानका श्रीमती र दुई छोरा छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।