मेहेलकुना। पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा कोरोना संक्रमणका कारण हालसम्म ३ जनाको मृत्यु भएको छ। कारोनाको दोश्रोलहर शुरु भएयता गुर्भाकोट ९ की एक महिला, गुर्भाकोट १३ र १४का दुई पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

नगरपालिका भित्र हाल संक्रमितको संख्या १ सय ३ पुगेको नगर स्वास्थ्य शाखा प्रमुख महेश कुमार पुरीले न्यूजपाटीलाई बताए। पुरीका अनुसार संक्रमित सबै होम आइशोलेसनमा बसिरहेका छन्। संक्रमित सबैलाई नगर स्वास्थ्यको टोलीले घरमै पुगेर स्वास्थ्य परामर्श दिईरहेको छ।

गुर्भाकोट नगरपालिकाले आपतकालिन अवस्थामा प्रयोग गर्नका लागि मेहेलकुनास्थित सिटी हलमा २५ बेडको अक्सिजन सहितको आइशोलेसन समेत बनाएको छ। अक्सिजन सपोर्टमा राख्नैपर्ने विरामीका लागि आइशोलेसन बनाईएको हो। यद्यपि यो आइशोलेसन सञ्चालनमा आउन भने एक दुई दिन लाग्न सक्ने गुर्भाकोट नगरपालिकाले जनाएको छ।

नगरपालिका भित्र लक्षण देखिएका र स्वास्थ्यमा समस्या आएका नागरिकका लागि हरेक सोमवार र शुक्रबार निशुल्क रुपमा नियमित पिसिआर तथा एन्टिजेन परिक्षण गरिदै आएको स्वास्थ्य शाखा प्रमुख पुरीले बताए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।