बुटवल। कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि जिल्लाका सरकारी अस्पताल बिरामीले भरिएका छन्। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र कोरोना विशेष अस्पताल तथा भैरहवाको भीम अस्पतालका शय्या भरिएपछि बिरामीलाई उपचारमा कठिनाइ भएको छ। अस्पतालमा शय्या अभाव भएपछि लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमै आज चार जनाले ज्यान गुमाए। क्लिनिकमा उपचाररत तीन महिला र एक पुरुष सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुष, कञ्चन गाउँपालिका–४ की २७ वर्षीया महिला, बुटवल–९ की ५४ वर्षीया महिला र तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला छन्। अस्पतालका अनुसार कोरोना विशेष अस्थायी अस्पतालमा शय्या नपाएपछि उनीहरुलाई क्लिनिकमा नै उपचारका लागि राखिएको थियो।

उता भीम अस्पतालस्थित कोरोना विशेष अस्पताल पनि बिरामीले भरिएको छ। कोभिडका लागि छुट्याइएका २७ शय्या भरिएपछि अस्पतालको आकस्मिक कक्षमा पनि सङ्क्रमितको उपचार भइरहेको छ। कोभिड कक्ष भरिएपछि आकस्मिक कक्षमा समेत सङ्क्रमितको उपचार शुरु गरिएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले बताए। अक्सिजनसहितका शय्या खाली नभएपछि केही बिरामीलाई भुइँमा राखेर उपचार गर्न बाध्य भएको उनको भनाइ छ।

गर्भवतीको उपचार केन्द्र शिक्षण अस्पताल

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पताल यस क्षेत्रका कोरोना सङ्क्रमित गर्भवतीको उपचार केन्द्र बनेको छ। कोरोना सङ्क्रमित त्यसमा पनि गर्भवतीले अन्यत्र अस्पतालमा उपचार नपाएर अलपत्र पर्ने अवस्थाको अन्त्य गर्दै शिक्षण अस्पताल कोहलपुरले जटिल परिस्थितिमा रहेका सङ्क्रमित गर्भवतीलाई समेत भर्ना गरेर उपचार गर्दै आएको छ।

बितेको एक हप्तामा मात्रै शिक्षण अस्पतालमा तीन सङ्क्रमित सुत्केरी भएका छन्। त्यसमा दुई जनाको जटिलावस्थामा शल्यक्रिया गरेर शिशु निकालिएको अस्पतालका सहनिर्देशक डा. नितेश कनौडियाले बताए। उनका अनुसार आज मात्रै भूमे गाउँपालिका वडा नं ४ रुकुम निवासी ३२ वर्षीया महिलाको शल्यक्रियामार्फत छोरी जन्माइएको छ। यही वैशाख २० गते राति ९ बजेतिर अस्पताल भर्ना भएकी उनलाई कोरोना जाँच गर्दा सङ्क्रमण देखिएको थियो।
शिशु जन्मिने मिति एक हप्ता पार हुँदा समेत व्यथा नलागेपछि अवस्था जटिल हुन सक्ने आकलनमा उनको शल्यक्रियामार्फत शिशु निकालिएको शल्यक्रियामा संलग्न स्त्रीरोग विशेषज्ञ डा.कविता सिन्हाले बताईन। उनका अनुसार शिशुको तौल दुई दशमलव सात किलो छ। आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको डा. सिन्हाले जानकारी दिईन।

एक हप्ताकै अन्तरमा शिक्षण अस्पतालमा तीन सङ्क्रमित सुत्केरी भएका छन्। सुर्खेत भेरीगङ्गा नगरपालिका वडा नं ११ निवासी २२ वर्षीयाको नर्मल डेलिभरी भएको थियो। उनलाई स्वास्थ्यलाभपछि घर पठाइसकिएको डा. सिन्हाले बताए। सुत्केरी व्यथाले च्यापेपछि अस्पताल पुगेका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ निवासी ३२ वर्षीया सङ्क्रमितको शल्यक्रियामार्फत शिशु निकालिएको थियो। यसबाहेक शिक्षण अस्पताल कोहलपुरमा अहिले तीन सङ्क्रमित सुत्केरी छन्। शिक्षण अस्पताल नेपालगञ्जमा शल्यक्रियामार्फत सुत्केरी भएकी नेपालगञ्जकै महिलालाई पनि कोहलपुर सारिएको छ। ती महिलामा शल्यक्रियामार्फत शिशु निकालिएपछि रिपोर्ट पोजेटिभ आएको थियो।

यस्तै गर्भपतनपछि रक्तश्राव नरोकिएकी सङ्क्रमित पनि अस्पताल भर्ना भएकी छन्। चौबीस हप्ताकी सङ्क्रमित गर्भवती पनि अस्पतालमा भर्ना हुनुभएको छ । अस्पतालमा उपचाररत उनीहरु सबैको अवस्था सामान्य छ। शिक्षण अस्पताल कोहलपुरमा गत वर्ष कोरोनाको महामारीका बेला पनि चार सङ्क्रमित गर्भवतीको शल्यक्रियामार्फत शिशु निकालिएको थियो। पश्चिम नेपाललमै कोरोना सङ्क्रमित गर्भवतीको प्रसूती तथा शल्यक्रिया सेवा शिक्षण अस्पताल कोहलपुरले दिँदै आएको छ। यहाँ लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट समेत शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामी सिफारिश भएर आउने गरेको अस्पतालका कोभिड स्रोत व्यक्ति डा. दिनेश श्रेष्ठले बताए। उनका अनुसार गर्भवती शल्यक्रियामा डा. सिन्हा सहित प्रा. डा. मीना सिन्हा, डा. गोमा रिमाल र शैलेन्द्र शाक्य तथा नर्स सरस्वती श्रेष्ठ, हेमा शाही र अम्बी महराको टोली संलग्न हुने गरेको छ।

रुकुमकोट बन्द

रुकुमपूर्व–कोरोना महामारीको जोखिम बढ्दै गएपछि रुकुमकोट बन्द हुने भएको छ। जिल्ला सदरमुकाम रहेको सिस्ने गाउँपालिका वडा नं ५ र ६ एक साताका लागि बन्द गर्ने निर्णय भएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले रुकुमकोटलाई आज राति १२ बजेदेखि लागु हुने गरी वैशाख २९ गते राति १२ बजेसम्म बन्द गर्ने निर्णय गरेको डिसिसिएमसीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए।

जिल्लामा कोरोनाका बिरामी बढ्दै गएको तर नियन्त्रण र व्यवस्थापनका लागि स्रोत साधन नभएपछि जिल्लाको मुख्यबजार रुकुमकोट बन्द गरिएको हो। अहिले जिल्लामा सिस्ने– २ का वडाध्यक्ष जीवन केसीसहित १४ जनामा कोरोना पुष्टि भएको छ। कोरोनाको जोखिम बढ्दै जाने तर मानिसले स्वास्थ्य मापदण्डको पालना नगरी लापरबाही गरिरहेको पाइएकाले रुकुमकोट बन्द गर्नुपर्ने स्थिति आएको प्रजिअ राईले बताए।

रोल्पामा जेठ ५ सम्म निषेधाज्ञा

रोल्पामा आजदेखि निषेधाज्ञा शुरु भएको छ। जिल्लामा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि स्थानीय प्रशासनले आज बिहानदेखि लागु हुने गरी १५ दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञा जारी गरिएपछि जिल्लाको जनजीवन प्रभावित भएको छ। पसल, यातायातका साधन तथा विद्यालय पूर्ण रुपमा बन्द छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म जिल्लामा ९८ कोरोना सङ्क्रमित छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।