काठमाण्डौं। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा एमालेको बलमिच्याइँ निन्दनीय भएको बताएका छन्। आइतबार विज्ञप्ति जारी गर्दै देउवाले मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनःनियुक्तिलाई घोर अलोकतान्त्रिक प्रवृत्ति भएको टिप्पणी गरे।

विज्ञप्तिमा उनले भनेका छन्, ‘लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ। संविधानको ठाडो उल्लंघन, बलमिच्याइँ र घोर अलोकतान्त्रिक प्रवृत्तिको म कडा निन्दा र भर्त्सना गर्दछु।’

नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्यमन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत नहुने देउवाले बताएका छन्। देउवाले नेपाली कांग्रेस, नेकपा माओवादी, जसपाराजमो लगायतका दलले बहुमत सांसदको हस्ताक्षरसहित वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिनु संसदीय मूल्य मान्यता विपरीतको व्यवहार भनेका छन्।

लुम्बिनीमा पोखरेललाई नै पुनः मुख्यमन्त्री बनाउने एमाले संसदीय दलको निर्णय, आजै शपथ लिने

विवादकाबीच मुख्यमन्त्री नियुक्त भएका पोखरेललाई अर्को झड्काः तीन सांसदले दिए राजिनामा 

लुम्बिनीका मुख्यमन्त्रीले पाउलान विश्वासको मत? अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची आज

‘संविधान बमोजिम संसद्‌मा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपुर्‍याई राजीनामाको नाटक गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मूल्यमान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन हो’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत भएको भन्दै देउवाले बलमिच्याइँले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसद्को बहुमत अनुरूप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेका बेला आइतबार उनले अचानक राजीनामा दिएका थिए। त्यसपछि एमालेले आफ्नो एकल बहुमतको सरकार दावी गर्दै प्रदेश प्रमुखलाई पत्र पठाएको थियो। प्रदेश प्रमुख धर्मनाथ यादवले आइतबार नै मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेका छन्।

लुम्बिनी प्रदेशमा नेकपाबाट निर्वाचित सांसदले आइतबार नै आफ्नो संलग्नता नेकपा माओवादी केन्द्रमा रहेको बताएकी छन्। त्यस्तै आइतबार नै एमालेका एक सांसदले सांसद पदबाट राजीनामा दिएका छन् भने सूर्य चिह्नबाट चुनाव जितेका दुई सांसदले पोखरेलको साथ छाडेर विपक्षी गठबन्धनमा हस्ताक्षर गरेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।