बुटवल। लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन्। उनीहरूले वर्तमान राजनीतिक परिस्थितीप्रति असन्तुष्टि जनाउँदै आज पदबाट राजीनामा दिएका हुन्।

राजिनामा दिनेहरुमा कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाही रहेका छन्। उनीहरुले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको बताएका छन्।

 

यसअघि मुख्यमन्त्री पोखरेलले प्रदेश सभामा सदस्य संख्या घटेर ८१ पुगेपछि एमाले एक्लैसँग ४१ सांसद रहेको भन्दै एक दलको बहुमतको सरकार बनाउने भन्दै राजीनामा दिएका थिए। तर उनको राजीनामापछि सांसद विमला वली (खत्री)ले माओवादी केन्द्र रोजेकी थिइन्। त्यसपछि पोखरेलले भनेजस्तो उनको पक्षमा बहुमत पुगेको थिएन। यसका बाबजुद् प्रदेश प्रमुख धर्मनाथप्रसाद साहले संविधानको धारा १६८ (१) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका थिए। थप तीन जना सांसदले पदबाट राजीनामा दिएपछि पोखरेलको नयाँ नियुक्ति विवादमा फसेको छ।

सांसद बिमला वली खत्रीले माओवादी केन्द्र रोजेपछि नै अल्पमतमा परेका मुख्यमन्त्री पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। पोखरेलको पुनर्नियुक्तिसँगै उनकै दल एमालेका तीन सांसदले समेत राजिनामा दिएपछि उनी स्वतः अल्पमतमा परेका छन्। यद्यपि तीनैजना सांसदहरुको राजिनामा स्वीकृत भने भैसकेको छैन।

अविश्वासको प्रस्ताव उपर प्रदेश सभाका छलफल हुनु ठिक अगाडि मुख्यमन्त्री पोखरेलले एकल बहुमतको सरकार बनाउन भन्दै राजिनामा दिएपछि राजनीतिक वृत्त तरंगित बन्दै गएको हो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।