काठमाडौं। पछिल्लो २४ घण्टामा पाँच हजार ७६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल १४ हजार ९६९ नमूना परीक्षण गरिएकामा उक्त सङ्ख्यामा कोभिड–१९ पुष्टि भएको हो। यस्तै, उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या एक हजार २८७ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ।

मन्त्रालयका अनुसार देशभर ४० हजार १०३ जना होम आइसोलेशनमा तथा संस्थागत आइसोलेशनमा तीन हजार ११० रहेका छन्। पछिल्ला २४ घण्टामा दुई हजार ४५५ महिला र तीन हजार २५१ पुरुष सङ्क्रमित भएका छन्। काठमाडौँमा एक हजार ९३२ जना सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ। भक्तपुरमा २०८ र ललितपुरमा ३५५ सङ्क्रमित फेला परेका छन्। यस्तै ४०१ जना आइसियुमा उपचाररत थगन ११० जना भेन्टिलेटरान छन्। आइसियु शैयाको कूल सङ्ख्या एक हजार २०३ र ५०८ भेन्टिलेटर छन्।

नेपालगञ्जमा थप तीन सङ्क्रमितको मृत्यु

नेपालगञ्जस्थित अस्पतालमा भर्ना भएका थप तीन कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीय पुरुष,४ निवासी ५८ वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताए। उनका अनुसार, वैशाख १५ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएकी नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ५८ वर्षीया महिलाको बिहान ९ः१५ बजे र भेरी अस्पतालमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीय पुरुषको बिहान १०ः३० बजे मृत्यु भएको हो।

यसैगरी, भेरी अस्पतालमा वैशाख १३ गते भर्ना हुनुभएका दाङ तुलसीपुर उपमहानगरपालिका–६ निवासी ४६ वर्षीय पुरुषको दिउँसो ३ बजे मृत्यु भएको स्रोत व्यक्ति तेज वलीले बताए। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या ११८ पुगेको छ।

ताप्लेजुङमा कोरोना सङ्क्रमणबाट दुईको मृत्यु

ताप्लेजुङमा कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन निवासी एक पुरुष र वृद्धा महिलाको सङ्क्रमणका कारण मृत्यु भएको हो। प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको शनिबार दिउँसो मृत्यु भएको हो। कोरोना सङ्क्रमण भएपछि केही दिनअघिदेखि प्रतिष्ठानमा भेन्टिलेटरमा राखेर उनको उपचार गराइँदै आएको थियो।

यस्तै, शुक्रबार राति ८५ वर्षीया वृद्धाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। लामो समयदेखि मुटुरोगबाट ग्रसित वृद्धालाई झापास्थित बिर्तासिटी अस्पतालमा उपचार गराएर शुक्रबार घर फर्काइएको थियो। घर फर्काएकै दिन राति वृद्धाको मृत्यु भएको परिवारका आफन्तले आपूmलाई जानकारी गराएको प्रजिअ पाण्डेले बताए। पाण्डेका अनुसार ती वृद्धाको एन्टीजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो।

यता मृतक वृद्धाको दाहसंस्कार भने परिवार आफैँले गरेका छन्। परिवारले नै शनिबार दाहसंस्कार गरेका र दाहसंस्कारमा संलग्न परिवारका चारजना सदस्यलाई चार थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) उपलब्ध गराइएको थियो। जनस्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर शवको अन्त्येष्टि गर्न मृतकका आफन्तलाई सुझाव दिएको प्रजिअ पाण्डेले बताए।

यसअघि फुङ्लिङ नगरपालिका–६ कोठेबारीका ५२ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको थियो। ती पुरुषको भने नेपाली सेनाले अन्त्येष्टि गरेका थिए। हाल ताप्लेजुङमा २१ जना सक्रिय सङ्क्रमित रहेका जिल्ला अस्पतालका डाक्टर सोनिङ लामाले जानकारी दिए।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।