बागलुङ। चार वर्ष नारायणप्रसाद शर्माले बागलुङ नगरपालिकामा रहेको सिम्लेको सरस्वती प्राथमिक विद्यालयमा शिक्षकका रुपमा बिताए। उनले गाइभैँसी पालेर केही समय दूध पनि बेचे। पन्ध्रवर्ष फर्निचर व्यवसाय पनि चलाए। सबै क्षेत्रमा सफलता हुँदाहुँदै उनले चार वर्षदेखि माछा पालन व्यवसाय थालेका छन्। उनको व्यवसायीक हुटहुटी भने प्राङ्गारीक उत्पादनसँग जोडिने हो।

बागलुङ –३ को काठेखोला पावरहाउस छेवैमा उनको माछा फर्म छ। त्रिपन्न वर्षिय शर्माको फर्ममा ग्रास, काप, रहु, नैनी, कमन काप, बिगेड, सिलभरलगायतमा माछा छन्। माछासँगै पाँचसय हाँस, एक सय टर्की, एक हजार लोकल कुखुरासमेत रहेका छन्। यी सबै व्यवसायमा जोडिन उनले आफ्नो १५ रोपनी जमिनसँगै भाडाको झण्डै ४५ रोपनी जमिन गरी ६० रोपनीमा व्यवसाय चलाएका छन्। करिव ४५ लाख रुपैयाँ लगानीबाट उनले थालेको व्यवसायमा ‘फूलबारी कटेज’ नामक रेष्टुरेन्ट समेत सञ्चालन गरेका छन्। अघिल्लो वर्ष सुरु भएको रेष्टुरेन्टमा माछाका परिकार खान पाइन्छ। दिनभरीको तनाव कम गर्दै बाँसले बनेका रेष्टुरेन्टमा पुगेर अर्गानिक खाना र माछाको स्वाद लिन बागलुङ बजारका धेरै पुग्ने गरेका छन्।

“जसले जे व्यवसाय गरेपनि, जागिर खाएपनि कृषिसँग जोडिनै पर्छ भन्ने बुझेर यता लागेको हुँ” उनले भने, “लाखौं कमाइ गरेपनि कृषि फसल खाएरै बाँच्ने हो, यो पेशामा लाग्दा धेरैको भोक मेटाउन सकिने रहेछ।” उनले बारीमा केरा र केही तरकारीसमेत लगाएका छन्। केराको पातसहित बोट र तरकारीका बोक्रा पनि माछाका लागि उपयोगी आहारा भएको शर्माले जानकारी दिए। वर्षको दुई लाख भाडा तिरेको जमिनमा सञ्चालित फर्मबाट उनले मासिक २ लाखबढी कमाइ गरिरहेका छन्। “अहिले पनि वर्षमा २० क्विन्टल माछा उत्पादन गरिरहेको छु, यो बढाएर ३० क्विन्टल पु¥याउने लक्ष छ” उनले भने, “यो मेहेनतबाट परिवारका तीन जना सदस्य र थप ३ युवा रोजगार बनेका छौं।” माछा पालनमा हौसिएका उनले अझै बढाउने सोच बनाएको बताए। खोलाको छेवैमा भएकोले पानीको दुःख छैन। आफ्नै खेतमा उनले पोखरी बनाएकोले लामो समयसम्म पाल्न सकिन्छ। विदेश जान खोजेका छोरालाई समेत कृषिमा जोडेकोले उनी उदाहरणीय पात्र बनेको मिर्मिरे कृषि सहकारी संस्थाका अध्यक्ष गंगाबहादुर थापाले बताए।

शर्माले वास्तविक किसानका लागि राज्यले लगानी गरेमा वैदेशिक रोजगारी घट्ने र स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न सकिने जानकारी दिए। “सरकारले किसानलाई चाहिने मल, बीउ र रसायनिक मलमा सहुलियत दिनुपर्छ” उनले भने, “कोरोनाले व्यवसायमा परेको असरप्रति पनि चासो दिएमा युवाहरु कृषि पेशामा आर्कषण हुने थिए।” कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराइले उनको कृषि फर्म अनुगमन गरिसकेका छन्। उनको मेहेनत देखेपछि प्राविधिक रुपमा साथ सहयोग गर्न तयार रहेको जानकारी दिए। “हामीले पनि वास्तविक किसानलाई नै सहयोग गर्ने हो” उनले भने, “किसानलाई धनी बनाइयो भने मात्रै अन्य पेशा खोज्नेले कृषि रोज्ने छन् ।”

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।