सुर्खेत। वनमा लागेको डढेलो बस्तीमा पसेपछि गुर्भाकोटमा दुईओटा गोठ जलेर नष्ट भएका छन्। गुर्भाकोट नगरपालिकाको वडा नं. ६ को सातमुलेभुतेचौर टोलमा मङ्गलवार आगलागी भएको हो।नजिकै रहेको सामुदायिक वनमा लागेको डढेलो वस्तीमा छिरेपछि सातमुलेका वीरेन्द्र रेग्मीको आँप बगैंचा र परालको टौवा जलेर नष्ट भएको छ। यस्तै भुतेचौर टोलमा दुईओटा गोठ र एउटा कुखुराको खोर जलेर नष्ट भएको छ। आगलागीमा कुनै मानवीय क्षति भने नभएको गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना बि.क.ले बताइन्।आगलागीको सूचना पाउनासाथ नगरपालिकाकी उपप्रमुख बि.क.को पहलमा प्रहरी चौकी मेहेलकुना र शसस्त्र प्रहरी शिक्षालय घुमखहरेको टोली आगलागी नियन्त्रणका लागि घटनास्थलमा पुगेको थियो। उपप्रमुख बि.क.कै नेतृत्वमा घटनास्थलमा खटिएको टोली र स्थानीयवासीको प्रयासमा आगलागी नियन्त्रण भएता पनि क्षतिको पूर्ण विवरण भने आइसकेको छैन।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।