सुर्खेत। गुर्भाकोट नगरपालिकामा कोरोना खोप लगाउन शुरु गरिएको छ। कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तर्गतको मेहेलकुना अस्पतालमा खोप केन्द्र राखि बुधवार देखि खोप अभियान शुरु गरिएको हो।अभियानको शुभारम्भ गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना बि.क.ले गरेकी हुन्। शुभारम्भ कार्यक्रममा बोल्दै बि.क.ले कोरोना विरुद्ध फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीलाई कोरोना खोप उपलब्ध गराउने सरकारको निर्णयको प्रशंसा गरिन।मेहेलकुना अस्पतालमा राखिएको खोप केन्द्रबाट स्वास्थ्यकर्मी दीपक केसीले पहिलो खोप लगाए। सरकारले पहिलो चरणमा कोरोना विशेष अस्पतालसहित सरकारी अस्पतालमा खटिएका फ्रन्टलाइनर चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव वाहन चालक, एम्बुलेन्स चालक, सफाइकर्मी, ७५ वर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई खोप लगाउने तयारी गरेको छ।

मेहेलकुना अस्पतालमा राखिएको खोपकेन्द्र ३ दिन सम्म चल्ने गुर्भाकोट नगरपालिकाका नगर स्वास्थ्य प्रमुख महेश कुमार पुरीले बताए। पुरीका अनुसार बुधवार साबिक गुमी, दहचौर र घुमखहरे स्वास्थ्य चौकी अन्तर्गतका १ सय २० जना स्वास्थ्य स्वयंसेविकास्वास्थ्यकर्मीहरुले खोप लगाउने छन्। यसैगरी बिहीवार साबिक धारापानी, मालारानी र भेरीगंगा नगरपालिकाका स्वास्थ्यकर्मीहरुले खोप लगाउने छन्। पहिलो चरणको खोप अभियानको अन्तिम दिन शुक्रवार साबिक मेहेलकुना, सहारेसिम्ता गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले खोप लगाउने छन्।यो खोप फ्रन्टलाइनरहरुका लागि समेत स्वेच्छिक भएको र खोप लगाउनुपूर्व कबुलियतनामा गर्नुपर्ने भएपछि खोपको विश्वसनीयतामा सर्वसाधारणले आशंका समेत गरेका छन्। यद्यपि यो खोप परीक्षणका सबै चरण पार गरेर आएकाले निर्धक्क लगाउन सकिने नगर स्वास्थ्य प्रमुख पुरीको भनाई छ। पुरी स्वयंले पहिलो चरण अन्तर्गत कोरोना खोप लगाएका छन्।नेपालमा भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप प्रयोग गरिएको हो । अनुदानमा उपलब्ध यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।