विद्यादेवी भण्डारी केपी ओलीको मात्रै राष्ट्रपति होइनः कोइराला

सुर्खेत। नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागका केन्द्रीय सदस्य गोविन्द कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै राष्ट्रपति नभएको बताएका छन्। नेपाली कांग्रेस गुर्भाकोटले बोटेचौर बजारमा शनिवार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कोइरालाले राष्ट्रपतिले प्रधानमन्त्रीका हरेक असंवैधानिक कदममा लालमोहर लगाउने गरेको आरोप लगाए।

उनले देशमा दुईओटा ठूला कम्युनिस्ट पार्टी एक हुँदा समेत चुनाव लड्न नडराएको कांग्रेस अब कम्युनिस्टहरू छिन्नभिन्न हुँदा चुनावबाट पछि नहट्ने उद्घोष गरे।

नेपाली कांग्रेसको केन्द्रीय समितिले देशका सबै स्थानीय तहमा प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने कदम विरुद्ध आह्वान गरेको कार्यक्रम अन्तर्गत गुर्भाकोटमा विरोध सभाको आयोजना गरिएको हो।

कार्यक्रममा नेता कोइरालाका अलाबा नेपाल महिला सङ्घकी कोषाध्यक्ष एवं गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना बि.क, नेपाल दलित संघ क्षेत्र नं. १ सुर्खेतका अध्यक्ष नरबहादुर सुनार, जिल्ला कार्य समितिका सदस्य चित्र बहादुर रेग्मी, जिल्ला कार्य समितिका कोषाध्यक्ष अनन्त पौडेल लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रम नेपाली कांग्रेस गुर्भाकोटका सभापति एवं गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनको अध्यक्षतामा सम्पन्न भएको हो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।