काठमाण्डौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोबिन्द केसीले नेशनल मेडिकल कलेजका सञ्चालक विरुद्ध फौजदारी मुद्धा चलाउन सरकारलाई आग्रह गरेका छन्। अवैध रकम असुली गर्नका लागि विद्यार्थीहरुको परीक्षा रोकेको भन्दै डा. केसीले मंगलवार विज्ञप्ति जारी गरि कलेज सञ्चालकलाई कार्वाही गर्न माग गरेका हुन्।
विरगञ्जस्थित नेशनल मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेको भन्दै विद्यार्थीहरु रामजी राम र पंकज कुमार रामको परीक्षा रोकेको थियो।
कलेजका सञ्चालक बसरुद्धिन अन्सारी प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका नेता समेत भएको विज्ञप्तिमा उल्लेख छ। अन्सारी मेडिकल क्षेत्रको माफियाकरण गर्ने मुख्य पात्रहरु मध्ये एक भएको भन्दै डा. केसीले उनको यस्तो अराजक गतिविधिप्रति चिकित्सा शिक्षा आयोग र त्रिवि आइओएमले देखाएको कमजोर व्यवहारप्रति पनि गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
डा. केसीले दुवै विद्यार्थीको सबै विषयको परीक्षा तत्काल सुचारु गराउन र छुटेको विषयको विशेष परीक्षा लिने व्यवस्था गराउन समेत सरकारसँग माग गरेका छन्।
विज्ञप्तिको पूर्णपाठः
प्रेस विज्ञप्ति
वीरगन्जस्थित नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीले अवैध रकम असुली गर्नका लागि विद्यार्थीहरु रामजी राम र पंकज कुमार रामको परीक्षा रोकेको घटनाको हामी कडा निन्दा गर्छौं ।
मेडिकल क्षेत्रको माफियाकरण गर्ने मुख्य पात्रहरु मध्ये एक निज अन्सारी प्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा संरक्षित मेडिकल कलेज संचालक तथा नेकपा नेता रहेको कसैबाट लुकेको छैन । उनको यस्तो अराजक गतिविधिप्रति चिकित्सा शिक्षा आयोग र त्रिवि आइओएमले देखाएको कमजोर व्यवहारप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नियामक निकायलाई नेटेर्ने तथा अवैध असुली गर्ने कलेजहरुको सम्बन्धन खारेजसम्मको निर्णय गर्ने अधिकार र जिम्मेवारी लिएका निकायहरुले खाली कागजी निर्णय मात्रै गर्ने र तिनलाई कार्यान्वयन गराउन नसक्ने लाजमर्दो अवस्थाको तत्काल अन्त हुनुपर्छ ।
त्यसैले भोलिदेखि दुवै विद्यार्थीको सबै विषयको परीक्षा सुचारु गराउन, हिजो छुटेको विषयको विशेष परीक्षा लिने व्यवस्था गराउन तथा नेशनल मेडिकल कलेज लगायत अवैध रुपमा थप शुल्क असुल गर्ने मेडिकल कलेजहरुको सिट कटौतीदेखि सम्बन्धन खारेजसम्मको प्रक्रिया अघि बढाउन त्रिबि चिकित्सा शास्त्र अध्ययन संस्थान(आईओएम) र चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण गराउँछौं ।
साथै उक्त अबैध अशुलि धन्दामा संलग्न कलेज संचालकलाई फौजदारी मुद्दा चलाउन सम्बंधित निकायलाई आग्रह गर्दछौ ।