सुर्खेत। युनिसेफ नेपालको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाले गरेका कामहरूको संयुक्त अनुगमन भएको छ। कोभिड १९ तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत पञ्चपुरी नगरपालिकामा गरिएका कामहरुको नगरपालिकाको टोली र सुन्दर नेपाल संस्थाको टोलीले आइतबार संयुक्त अनुगमन गरेको हो।

अनुगमन टोलीमा पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापा, उपप्रमुख मुक्तिदेवी रेग्मी, प्रमुख प्रशासकीय अधिकृत मोहन बुढा, सुन्दर नेपालका अध्यक्ष हेमराज भुसाल, कार्यकारी निर्देशक भुपेन्द्र कँडेल, कार्यक्रम संयोजक कृष्ण लम्साल र सम्बन्धीत वडाका वडाअध्यक्षहरू रहेका थिए।

युनिसेफ नेपालको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाले जनता मा.वि. विद्यापुरमा हात धुने स्थलको पक्की संरचना निर्माण गरेको छ। संस्थाले पिउने पानी फिल्टर गर्ने प्रविधि समेत विद्यालयमा जडान गरेको छ।  परियोजना अन्तर्गत विद्यालयमा स्वच्छता सामाग्री वितरण र विद्यालय डिस्इन्फेक्सन समेत गरिएको छ। परियोजनाले कोभिड १९ संक्रमण रोक्न, रोकथाम गर्न क्वारेन्टिन र आइसोलेसन सेन्टरमा रुपान्तरण गरिएका विद्यालयहरुमा हात धुने स्थल, पानी शुद्धिकरण प्रविधि तथा स्वच्छता सामाग्री वितरण गरेको छ।

संस्थाले परियोजना अन्तर्गत पञ्चपुरीका जनता मा.वि. विद्यापुर, विद्याज्योती मा.वि. वावियाचौर, सूर्यप्रकाश मा.वि. पलैटे र सालकोट अस्पतालमा गरेका कामहरुको अनुगमन गरेको हो।

अनुगमनपछि पञ्चपुरी नगरपालिकाका नगरप्रमुख उपेन्द्र बहादुर थापाले सुन्दर नेपालले कोभिड तयारी र प्रतिकार्यका लागि आफ्नो नगरपालिकामा गरेका कामहरुको मुक्तकण्ठले प्रशंसा गरे। सुन्दर नेपालका कार्यकारी निर्देशक भुपेन्द्र कँडेलले परियोजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे।

परियोजना सुर्खेत, सल्यान र दैलेखमा सञ्चालित छ।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।