ओली – प्रचण्ड संवादहीनता तोडियो, बालुवाटार पुगे प्रचण्ड

काठमाण्डौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार गएका छन्। झण्डै दुई साता अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न अस्वीकार गरेका प्रचण्ड ११ दिन पछि शनिवार बालुवाटार पुगेका हुन्। 

ओलीसँगको भेटवार्ताका लागि बालुवाटार जानु अघि प्रचण्डले बरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका थिए। मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरूको सिफारिस, पूर्वमाओवादी कोटाबाट कर्णाली प्रदेशमा मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही विरुद्ध अविश्वास प्रस्ताव तयार लगायतका विषयमा ओलीले एकलौटी निर्णय गरेको भन्दै प्रचण्ड ओलीसँग रिसाएका थिए।

कात्तिक ४ पछि ओली र प्रचण्डको संवाद रोकिएको थियो। यो बीचमा प्रचण्डलाई फकाउन ओलीको सन्देश लिएर महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुगेपनि प्रचण्डले संवादमा बस्न अस्वीकार गरेका थिए। यद्यपि प्रचण्डले आफू कोरोना सङ्क्रमितको कन्ट्याक ट्रेसिङमा परेकाले बालुवाटार नजाने बताउँदै आएका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।