साझा पार्टीको जुम्ला जिल्ला कमिटी घोषणा

जुम्ला। साझा पार्टीको जुम्ला जिल्ला कमिटी घोषणा भएको छ। जयबहादुर विश्वकर्माको संयोजकत्वमा शुक्रवार भर्चुअल भेला मार्फत १७ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको हो।

समितिका सदस्यहरुमा सञ्जु तिमिल्सिना, दामु गिरी, दिपिका थापा, निरजराज गिरी, उजेला रोकाया, हिक्मत बडुवाल, रामबहादुर रावत, देवीचन्द्र बुढा, विकास अधिकारी, सरिता भण्डारी, हिक्मत हमाल, सूर्य नेपाली, रुपा महत, नरबहादुर वड, कमलसिंह सुनार र अमृता मगर रहेका छन्।

भर्चुअल भेलामा नवघोषित संस्थापक जिल्ला समितिका संयोजक जयबहादुर विश्वकर्माले साझा पार्टीका मूल्य मान्यता गाउँगाउँमा पुर्याउने जिम्मेवारी आफूले इमानदारीपूर्वक पुरा गर्ने प्रतिवद्धता जनाए।

साझा पार्टीका केन्द्रिय सदस्य शुसिल देवकोटाले सहजीकरण गरेको घोषणा कार्यक्रममा नवघोषित जिल्ला कमिटीलाई साझा पार्टीका युवा नेता सूर्यदीप रेग्मी, मुगु जिल्ला संयोजक अजय मल्ल, साझा युवा संगठन कर्णाली प्रदेशका संयोजक अनिल ढकाल र साझा सद्भाव समूह युरोप महादेशीय समितिका संयोजक एसके श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रममा साझा पार्टी कर्णाली प्रदेशका संयोजक गेहेन्द्र प्रसाद दाहालले सुसंस्कृत राजनीतिको जग बसाल्ने यो यात्रा चुनौतीपूर्ण रहेको भएपनि हाम्रो पुस्तालाई टुलुटुलु हेरेर बस्ने छुट नरहेको बताए। दाहालले नवघोषित जिल्ला कमिटी भित्तामा फोटो झुन्ड्याउन आएको मात्रै नभई जुम्लाका गाउँगाउँमा राजनीतिको परिभाषा बदल्न आएको विश्वास व्यक्त गरे। दाहालले नवघोषित जिल्ला समितिलाई  सफल कार्यकालको शुभकामना समेत दिएका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।