काठमाण्डौं। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भिर प्रश्न गरेको छ। २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागमा छलफल गर्न सरकारले वार्ता समिति समेत नबनाएको भन्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई बुधवार सार्वजनिक पत्र लेखेका हुन।

पत्रमा डा. गोविन्द केसीसँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो? भनेर सरकारलाई प्रश्न गरिएको छ। 

डा. केसीले सत्याग्रह शुरु गरेको २४ दिन बितिसक्दा समेत वार्ता समिति गठन नगर्नु दुखद भएको भन्दै सरकारले शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार गरेको उल्लेख छ।

नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्दा डा. केसीले गरेका अनशनमा थुप्रैपटक वार्ता गरि कयौं माग समेत पुरा गरिएको पत्रमा दाबी गरिएको छ। तर अहिलेको सरकारले आफैँले डा. केसीसँग गरेका सम्झौता उल्ट्याएको र नयाँ सन्दर्भमा उठाएका मागहरूलाई संवाद मार्फत समाधान खोज्ने लोकतान्त्रिक संस्कार अहिलेको सरकारमा नभएको आरोप लगाइएको छ।  सत्याग्रहीलाई दुर्व्यवहारदेखि सत्ताको अहंकार सम्मले कम्युनिस्टतन्त्रको मनोविज्ञानलाई पुष्टि गरेको पत्रमा उल्लेख छ।

पत्रमा डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको अवस्थामा बालुवाटारे बालहठ प्रधानमन्त्रीका निम्ति निकै महंगो पर्ने भएकाले उनका जायज मागलाई सम्बोधन गर्न ढिलाई गर्ने भुल नगर्न चेतावनी दिइएको छ। 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।