कोरोनाले मात्रै होइन, भोकले पनि नागरिकको ज्यान जान सक्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले लकडाउनबाट सिर्जित समस्याले काठमाडौंबाट हिँडेर गन्तव्यतर्फ लागेकाहरुको विकराल अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले पैदल यात्रामार्फत् घर जानेहरु हनिमुन र पिकनिकका लागि काठमाडौं छाडेको नभई बाध्यताले भौतारिएकाले उनीहरुको समस्याप्रति गम्भीर हुन सरकालाई आग्रह गरेको छ ।

फेसबुक लाइभमार्फत् गरिएको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आर्थिक क्षमताले नधानकै श्रमिक बाहिरिएको बताए ।

नागरिकको मृत्यु कोरोनाले मात्रै नभएर भोकले पनि हुने तथ्य शर्माले सरकारलाई चेतावनी शैलीमा सचेत गराउनुभयो । भयावह अवस्था सिर्जना हुनसक्ने आंकलन गर्दै उनले सचेत हुन सरकारलाई अनुरोध गरे ।

भोकले कोहि मर्न पर्दैन भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीलाई स्मरण गर्दै शर्माले मजदुरहरु भोककै कारण बाहिरिएको दृष्टान्त सुनाए ।

भोकभोकै हिडिरहेका नागरिकको पीडाले विस्फोटको रुप लिनसक्ने तर्फ उहाँले सचेत गराए । संकटको समयमा प्रतिपक्ष कांग्रेस सरकारलाई सहयोग र्पुयाउन साथमै रहने प्रतिबद्धता पनि शर्माले जनाए ।

संकटको समयमा देखिएका मजदुरका पीडाप्रति सरकारलाई संवेदनशील बनाउन घच्चघचाइरहेन उनको भनाई थियो ।लकडाउन लम्बिएसँगै श्रमिकको आयआर्जनको बाटो रोकिएको बताउँदै प्रवक्ता शर्माले श्रमिकका समस्या सम्बोधन गर्न सरकार चुकेको टिप्पणी गरे ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।