काठमाडौं । रौतहटको ईशनाथ नगरपालिकामा कोरोना भाइरस संक्रमण देखिएका युवक भारतको राजधानी दिल्लीबाट फर्केको पाइएको छ ।

भारतको राजधानी दिल्लीस्थित पहाडगंजको एउटा ब्याग कारखानामा काम गर्ने १९ वर्षिय युवकलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । संक्रमित युवकसँगै ईशनाथका ३ जना दिल्लीबाट फर्किए ।
अन्य तीन जनाको रिपोर्ट भने निगेटिभ आएको छ । भारतमा पनि लकडाउनको विस्तार भएसँगै उद्योग बन्द भए पछि चारै जना युवकहरु बिहारी साथीहरुसँगै पैदल निस्केका थिए ।
चैत १४ मा पैदलै हिँडेका सबैजनाले भारतको बिहारका यात्रुहरुसँगै ट्रकमा आएका थिए । ट्रकले १६ गते बिहान मोतिहारी पुर्याएको थियो ।
मोतिहारीमा बिहान १० बजे झरेपछि चारैजना करिब ४० किलोमिटर पैदलै हिँडेर राति दश बजे नेपाल भारत सिमानामा अवस्थित आफ्नो गाउँ ईशनाथ नपाको मोतिपुर आइपुगेका थिए ।
चारैजनाले राति दश बजे नै चोर बाटोबाट नेपाल छिरेर आफ्नो घर पुगेका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।