अस्पताल जानुअघि कोरोना संक्रमित युवाले होटलमा पार्टी दिएका थिए

काठमाडौं।कोभिड १९ (कोरोना भाइरस)संक्रमित धादिङका युवा यूनाइटेड अरब ईमिरेट्स (यूएई)बाट नेपाल आएपछि राजधानकी एक होटलमा बसेका थिए।

उक्त होटलमा रहँदा उनले आफ्ना साथीहरुलाई बोलाएर जमघट गर्नुका साथै पार्टी समेत दिएका थिए।

गत ६ चैत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका उनी १० चैत्रमा मात्रै अस्पताल पुगेका थिए।

उक्त पाँच दिनको अवधिमा उनले धेरैजनासँग भेटघाट गरेको अस्पतालमा जानकारी दिएका छन्।

कोरोना संक्रमण देखिएपछि हाल उनको टेकु अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।

३२ वर्षीय उनी नेपाल आएको पाँचौँ दिनमा मात्र स्वास्थ्यमा असहजता भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए।

उनी बसेको होटलका नाम भने स्वास्थ्य मन्त्रालयले गोप्य राखेको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार (आज) नियमित कोरोना बिफ्रिङमा ती युवाका परिवार, उनी बसेको होटल, त्यहाँ रहेका र भेटेका व्यक्तिको खोजी गरी जाँच गरिने बताएका छन्।

तस्वीरमा शुक्रराज अस्पताल। फाइल तस्वीर।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।