काठमाडौं। वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति हाललाई स्थगित गरिएको छ।

सरकारले अत्यावश्यक काममा बाहेक विदेश नजान आग्रह गरेको सन्दर्भमा सो निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। ठूलो संख्यामा नेपाली रोजगारका लागि मध्यपूर्वका मुलुक जाने गरेका छन्।

चीनको ऊहानबाट फैलिएको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको भन्दै आइतबार मात्र ३० नेपालीलाई बहराइनले अध्यागमनबाट प्रवेशमा रोक लगाएको थियो।

यस सन्दर्भमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कामका लागि होस् या अध्ययनका लागि नजान सार्वजनिक अह्वान गरेका थिए। सरकारले दक्षिण कोरियामा इपीएस प्रणालीबाट कामदार तत्काल नपठाउने निर्णय गरेको थियो।

यसअघि अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई एनओसी (नो अब्जेक्सन लेटर) दिन रोक लगाइएको थियो।

त्यसैगरी शुक्रबारदेखि लागू हुने गरी पाँच देशका लागि अनअराइभल भिसा बन्द गर्ने निर्णय पनि गरिरहेको मन्त्री ज्ञवालीले जानकारी दिए।

दक्षिण कोरिया, जापान, इरान, चीन र इटालीका नागरिकलाई अनअराइभल भिसा बन्द गरिएको हो।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।