काठमाडौं।राष्ट्रिय सभामा नवनियुक्त १८ सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ।

सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजे सदस्यहरूको शपथ हुनेछ। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त सदस्यहरूको शपथ गराउनेछन्।

एक तिहाइको कार्यकाल दुई वर्षमा सकिने संवैधानिक प्रावधान अनुसार रिक्त हुने स्थानमा माघ २४ गते निर्वाचन भएको थियो। निर्वाचित सदस्यहरूले फागुन २१ देखि औपचारिक रूपमा जिम्मेवारी पाउँदैछन्।

निर्वाचन भएका १८ स्थानमध्ये १६ सिट सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले जितेको छ । राष्ट्रिय जनता पार्टीले दुई सिटमा जित हासिल गर्दा अन्य दलले कुनै पनि स्थानमा जित हासिल गर्न सकेका छैनन्। मन्त्रिपरिषद्बाट मनोनीत हुने एक सदस्य सरकारले सिफारिस गरिसकेको छैन।

बुधबार नवनिर्वाचित सदस्यहरू इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहालको शपथ हुनेछ। यस्तै, सदस्यहरू राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमारसिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसालको पनि शपथ हुनेछ।

यस्तै, भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरको शपथ हुनेछ।

मङ्गलबारदेखि सभाका १९ सदस्यको कार्यकाल सकिएको छ। पहिलो पटक निर्वाचन भएपछि सदस्यहरूको कार्यकाल गोलाप्रथाबाट निर्धारण गरिएको थियो। जसमा पहिलो दुई वर्षको कार्यकाल रहेका १९ जनाको औपचारिक रूपमा राष्ट्रिय सभाबाट बिदाइ भएको छ।

दुई वर्षे कार्यकाल पूरा गर्ने सदस्यहरूमा कमलाकुमारी ओली, कालीबहादुर मल्ल, खेमराज नेपाली, धनकुमारी खतिवडा, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा। युवराज खतिवडा, युटोल तामाङ हुनुहुन्छ।

यस्तै, सदस्यहरू रमेशप्रसाद यादव, राजकुमार कुँवर, रामपृत पासवान, विन्दादेवी आले (राण), वृषेशचन्द्र लाल, सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे र हरिचरण शिवाकोटीको पनि कार्यकाल सकिएको छ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।