साझा पार्टीको राष्ट्रिय भेला लुम्बिनीमा शुरु हुँदै [विज्ञप्ति सहित]

काठमाडौं।साझा पार्टीको राष्ट्रिय भेला बिहीबार (आज) बाट शुरु हुँदै छ।

‘साझा पार्टी फरक धार, नयाँ उर्जा संगठन र विचार’ भन्ने स्लोगनसहित लुम्बिनीमा शुरु हुन लागेको भेला आगामी १७ फागुनसम्म चल्ने आज एक विज्ञप्ति जारी गरी जानकारी दिइएको छ।

भेलामा सातै प्रदेश तथा विदेशस्थित साझा सद्भाव समूहका करिब पाँच सय अगुवा नेता/कार्यकर्ताहरुको उपस्थिति रहने विज्ञप्तिमा उल्लेख छ।

“भेलाले पार्टी स्थापनायताको अनुभव, सिकाइ, उपलब्धिहरूलाई रक्षा गर्दै तिनको जगमा अझ अगाडि जाने र आगामी एक बर्षभित्र पार्टीलाई नयाँ राजनीतिक उचाइ दिने गरी रणनीतिक र सांगठनिक कार्ययोजना तय गर्नेछ।” पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

आज तीन बजे उद्घाटन हुने कार्यक्रममा सहभागी सबैले साँझ मायादेवी मन्दिरमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको युवा नेता सूर्यदीप रेग्मीले न्यूज पार्टीलाई जानकारी दिए।

यस्तै शुक्रबार (भोलि) समूहगत छलफलबाट उठेका प्रश्नहरुको जवाफ केन्द्रीय नेतृत्वबाट दिइने र शनिबार (अन्तिम दिन) पार्टीको रणनीति र कार्ययोजना पारित गरी लुम्बिनी घोषणापत्र जारी गरिने विज्ञप्तिमा उल्लेख छ।

प्रेस विज्ञप्ति: साझा राष्ट्रिय भेलाबारे (प्रकाशन र प्रसारणका लागि सक्दो शेयर गरिदिन आग्रह सहित)

साझा पार्टीको राष्ट्रिय भेला शान्तिभूमि लुम्बिनीमा आज सुरू हुँदैछ। फागुन १७ गतेसम्म चल्ने भेलामा देशका सातै प्रदेश तथा विदेशस्थित सद्भाव समूहकासमेत गरी करीब पाँच सय अगुवा सदस्य सहभागी हुनेछन्।

“साझा पार्टी फरक धार, नयाँ उर्जा संगठन र विचार” नारा दिईएको राष्ट्रिय भेलाले पार्टी स्थापनायताको अनुभव, सिकाइ, उपलब्धिहरूलाई रक्षा गर्दै तिनको जगमा अझ अगाडि जाने र आगामी एक बर्षभित्र पार्टीलाई नयाँ राजनीतिक उचाइ दिने गरी रणनीतिक र सांगठनिक कार्ययोजना तय गर्नेछ।

भेलाको पहिलो दिन आज दिउँसो तीन बजेपछि उद्घाटन सत्र सुरू हुनेछ। आजै साँझ सात बजे केन्द्रीय समितिका सम्पूर्ण सदस्य र भेलाका सबै सहभागी सदस्यहरूले मायादेवी मन्दिरमा शान्ति दीप प्रज्वलन गर्ने कार्यक्रम छ । दोस्रो दिन शुक्रबार समूहगत प्रस्तुती र छलफल हुनेछ। तेस्रो तथा अन्तिम दिन शनिवार समूहगत छलफलमा उठेका प्रश्नहरुको जवाफ केन्द्रीय नेतृत्वले दिनुका साथै साझा पार्टीको रणनीति र कार्ययोजना पारित गरी लुम्बिनी घोषणापत्र जारी गर्दै भेला समापन हुनेछ।

डा. सूर्यराज आचार्य

प्रवक्ता साझा पार्टी

मिति: १५ फागुन २०७६

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।