काठमाडौं।राजधानीमा आयोजित एउटा विवाहमा दुलाहा नआएपछि हल्लीखल्ली मच्चिएको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ।

काठमाडौंको बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएको जन्ती नै नआएपछि केटी पक्षले प्रहरीलाई उजुरी गरेको थियो।
आफूलाई इञ्जिनियर बताउने आश्रेय बस्नेतले आफ्नो घर सिनामंगल भएको र आफू डाक्टरको छोरा भएको बताएका थिए। १५ दिनअघि उनीहरुको टिकाटालो पनि भएको थियो। टिकाटालोमा केटी पक्षले केटापक्षलाई चार तोला सुनको गहना पनि दिएको थियो।
प्रहरीलाई उजुरी गरेपछि प्रहरी बस्नेतको घर पुग्दा उनी डेरमा बस्ने रहेछन्। कोठामा पनि ताला लागेको थियो। केटापक्षले हजुरआमा भनेर चिनाएकी मान्छे पनि फेला परिनन्। कार्डमा दिइएको केटाको बाबु–आमाको नाम पनि नक्कली रहेको खुल्यो। केटाको वास्तविक नाम पनि साहिल बस्नेत रहेछ।
काठमाडौंमा नभेटिएका बस्नेत अन्ततः पोखरा विमानस्थलमा भेटिए। उनको साथबाट श्रोत नखुलेको चार हजार अमेरिकी डलर पनि फेला परेको छ।
काठमाडौं प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीका अनुसार आफूलाई इन्जिनियर भने पनि बस्नेतको दाबी पुष्टि गर्ने आधार देखिएको छैन। उनले के कारणले यस्तो गरे भन्ने खुलेको छैन। उनलाई आपराधिक विश्वासघात ठगी मुद्दा चलाउने भइरहेको छ।
प्रहरीका अनुसार करिब १५ दिन अघि पनि यस्तै उजुरी आएको थियो। फरार रहेका ती दुलहा अझै फेला परेका छैनन्।
फाइल तस्वीर