काठमाडौं।सरकारले चालू आर्थिक वर्षभित्रै धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालन गर्ने तयारी गरिरहेको छ।

रेल निर्माणको काम सकिएर डब्बा नेपाल ल्याउने संघारमा रहे पनि जनशक्ति अभाव हुँदा रेल सञ्चालन प्रक्रिया लम्बिएको हो। रेल विभागले चैत वा वैशाखमा नै रेल ल्याउन सकिने र कुनै कारणले रोकिए पनि असारभित्र सञ्चालन भइसक्ने जनाएको छ।

जनशक्ति अभाव भएकाले यसअघिको घोषणाअनुसार रेल ल्याउन केही ढिलाइ भएको भन्दै विभागले फेब्रुअरीमा पहिलो र मार्चमा दोस्रो रेल ल्याउने गरी सम्झौता भए पनि जनशक्ति व्यावस्थापनमा समय लागेकोले ढिलो भएको जनाएको छ।

रेल विभागका महानिर्देशक वलराम मिश्र भन्छन्, ‘हामीले समयमानै रेल सञ्चालनको लागि तयारी पूरा गरेका हौं, तर जनशक्ति अभाव र आन्तरिक प्रक्रिया पूरा गर्दा ढिलो हुने देखिएको छ।’

गत शुक्रबारमात्र रेल विभागले विभिन्न ९ पदका लागि २६ जनशक्ति माग गर्दै सूचना जारी गरेको छ। माग गरेको समयभित्र पनि नेपालीबाट दरखास्त नआए विभागले विदेशी कर्मचारीको लागि पनि सूचना जारी गर्ने जनाएको छ।

हाल करिब २ सय जनशक्तिको अभाव भए पनि पहिलो चरणमा विभागले २६ जनाको मात्रै माग गरिएको जानकारी दिएको छ। बाँकी कानुनी प्रक्रिया पूरा गरेर माग गर्ने विभागले जनाएको छ।

यो समाचार आजको कारोबार दैनिकमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।