१९ जना बालिकाले यौन दुर्व्यवहारको उजुरी दिएपछि पक्राउ परे शिक्षक

काठमाडौं।ललितपुरको एक प्राथमिक स्कूलमा पढ्ने बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक नन्दप्रसाद निरौला बिहीबार (आज) पक्राउ परेका छन्।

स्कूल्मा १९ जना बालिकाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै लेखेको निवेदन र त्यसैका आधारमा प्रधानाध्यापक सविता सिलवालले दिएको उजुरीका आधारमा प्रहरीले निरौलालाई पक्राउ गरेको हो।

महालक्ष्मी नगरपालिका ७, टीकाथलीस्थित श्रीनारायण आधारभूत विद्यालयका शिक्षक निरौलालाई अनुसन्धान निम्ति पाँच दिन म्याद थपिएको सातदोबाटो प्रहरी वृत्तका डिएसपी मित्रबन्धु शर्माले बताए।

‘हामीले बुधबार निरौलाविरूद्ध पक्राउपुर्जी पायौं, आज बिहान पक्राउ गरी पाँच दिन म्याद लिएका छौं,’ डिएसपी शर्माले भने।

स्कुलका ३ देखि ५ कक्षाका बालिकाले यही फागुन २ गते शुक्रबार निरौलाद्वारा यौन दुर्व्यवहार भएको भन्दै प्रधानाध्यापकलाई निवेदन बुझाएका थिए।

विषय- केटीहरूमाथि अन्याय भयो

श्रीमान प्रिन्सिपल, हामी केटीहरूमाथि अन्याय–अत्याचार भएको छ। केटीहरूलाई ढाडमा सुम्सुम्याउने, छातीतिर छुन आउने, विभिन्न अगंहरूमा छुन आउने, नचाहिएको व्यवहार गर्ने। हामी यस्तो समस्यामा परेका छौं। हामी यस्तो अत्याचार सहन सक्दैनौं। नन्द सरले हामीलाई नराम्रो व्यवहार गरेकोले तपाईंहरूले छानबिन गरिदिन अनुरोध गर्दछौं।’

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।