यूटाको सिनेटले बहुविवाहलाई अपराध नमान्ने

काठमाडौं।संयुक्त राज्य अमेरिकाको यूटा राज्यको सिनेटले वयस्कहरूको आपसी सहमतिमा गरिने बहुविवाहलाई अपराध ठहर नगर्ने पक्षमा सर्वसम्मतिले मत दिएको छ।

विद्यमान कानूनअनुसार एक जनाभन्दा धेरैसँग विवाह गरेको पाइएमा पाँच वर्षसम्म जेल सजाय हुन्छ। उक्त नयाँ कानूनका पक्षधरहरूले यसले बहुविवाह अभ्यास गर्ने समुदायहरूसँग सम्बन्धित गोप्यता हटाइदिने र कोही पीडित भए त्यसको उजुरी गर्न सहयोग पुग्ने बताउने गरेका छन्।

सिनेटले पारित गरेको उक्त विधेयकलाई अब उक्त राज्यको तल्लो सदन प्रतिनिधिसभाले पनि पारित गर्नुपर्छ। प्रस्तावित कानूनअनुसार एक जनाभन्दा बढी पति वा पत्नी भएको खण्डमा त्यसलाई सडकनियम उल्लङ्घन गरे सरह न्यून स्तरको अपराध मानिनेछ।

समाचारसंस्था एपीका अनुसार यूटा राज्यमा झन्डै ३०,००० मानिसहरू बहुविवाह मान्ने समुदायका छन्। अचेल बहुविवाह गरेकालाई उसले आफ्नो समुदायबाट बहिष्कार गर्छ। तर अझै पनि कट्टर मोर्मोन समुदायले उक्त अभ्यास जारी राखेको छ।

यूटाको संविधानले बहुविवाहलाई अवैध मानेको भए पनि अधिकारीहरूले त्यस्तो अभ्यास गर्ने मानिसविरुद्ध कानूनी कारबाही गर्दैनन्।

सन् २००१ मा टम ग्रीन नामक व्यक्ति ५० वर्षयता बहुविवाहका कारण दोषी ठहर भएका पहिलो पुरुष थिए। उनका पाँच पत्नी थिए।

उनकी एक पत्नी १३ वर्षकै उमेरमा गर्भवती भएको पाइएपछि उनलाई बालिका बलात्कारको मुद्दामा पनि सजाय दिइएको थियो। एजेन्सी

फाइल तस्वीर

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।