इराकस्थित अमेरिकी दूतावासलाई लक्षित गरी रकेट आक्रमण

काठमाडौं।इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावास नजिकै रकेट आक्रमण भएको छ।

आइतबार (आज) बिहानै केही रकेट प्रहार भएको अमेरिकी सैन्य स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले सम्प्रेषण गरेको छ।

कतिवटा रकेट आक्रमण भएको र आक्रमणबाट के कति क्षति भयो भन्नेबारे भने हालसम्म कुनै जानकारी प्राप्त छैन। बग्दादस्थित आफ्ना रिपोर्टरले ठूलो विस्फोटका धेरै आवाज सुनेको भन्ने जानकारी दिएको एएफपीले जनाएको छ।

आक्रमण कसले गरेको भन्ने पुष्टि भएको छैन। अमेरिकाले भने इरान आक्रमणमा इरान समर्थित समूहको हात रहेको दाबी गरेको छ।

गत जनवरी ३ मा अमेरिकाले इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानीको हत्या गरेको थियो। त्यसको आक्रोशमा इरानले ८ जनवरीमा इराकमा रहकेका दुई अमेरिकी सेनाको आधार शिविरमा मिसाइल आक्रमण गरेको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।