पत्रकारको लाइसेन्स परीक्षा औचित्यहीनः प्रेस युनियन

काठमाडौं। नेपाल प्रेस युनियनले पत्रकारको लाइसेन्सको लागि हुने परीक्षाको प्रावधान औचित्यहीन भएको बताएको छ। युनियनका महासचिव अजयबाबु सिवाकोटीले शनिवार विज्ञप्ति जारी गरि पत्रकार बन्ने लाइसेन्सका लागि सरकारले परीक्षा लिने गरी कुनै पनि निकाय खडा गर्ने पक्षमा वकालत गर्न नसकिने उल्लेख गरेका छन्।

प्रेस युनियनले नागरिकको मौलिक हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी ल्याउन लागेको पत्रकारको लाइसेन्स सम्बन्धी प्रावधान सच्याउन माग गरेको छ।

मिडिया काउन्सिल विधेयकमा केही संसोधन गर्न तयार रहेको सरकारले सञ्चारकर्मीहरूलाई लाइसेन्स लिनुपर्ने गरी ल्याउन लागेको नयाँ व्यवस्थाप्रति युनियनले आपत्ति जनाएको हो। संविधानको मर्मविरुद्ध गएर कानुन बनाउन सत्तारुढ दलको बहुमत रहेको संसद्‌ उद्यत् रहनु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ।

पत्रकारलाई लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधानले सरकारको कुनै अमुक निकायबाट परीक्षामा उत्तीर्ण भएपछि मात्र समाचार वा विचार अभिव्यक्ति गर्न पाइन्छ भन्ने नियन्त्रित सोचको पुष्टि भएको युनियनको ठहर छ। यो भिडियो पनि हेर्नुहोस्।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।