नेकपा बैठकः ‘ब्यानर’मा राखिएको अध्यक्षद्वयको फोटो हटाउन सदस्यहरुको माग

काठमाडौं।नेकपाका केन्द्रीय सदस्यहरुले उद्घाटन कार्यक्रमको ‘ब्यानर’मा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो राखेकोप्रति आपत्ति जनाएका छन्।

बुधबारबाट शुरु भएको केन्द्रीय समिति बैठकमा उनीहरुले नेतृत्वमा सामन्तवादी प्रवृत्ति बढ्दै गएको भन्दै त्यसप्रति आपत्ति जनाएका हुन्।

केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बैठकमा अध्यक्षलाई ‘फोटो राखेर तपाईँलाई बडा मज्जा र रमाइलो लागिरहेको होला होइन?’ भन्दै प्रश्न गरेका थिए।

बैठकमा केन्द्रीय सदस्यहरुले मार्क्स तथा एङ्गेल्सको फोटो हटाएर अध्यक्षहरुको फोटो राखिएकोमा आपत्ति जनाएका हुन्।

बैठकमा अर्का केन्द्रीय सदस्य राजेन्द्र राईले अध्यक्षहरुमा राजावादी प्रवृत्ति देखिएको भन्दै अध्यक्षहरुको फोटो हटाउनुपर्ने माग गरे।

‘यो फोटो राख्ने सामान्तवादी प्रवृत्ति हो। राजावादी प्रवृत्ति भयो। यो फोटो निकाल्नुहोस्’ उनले बैठकमा भने, ‘यसपटक सक्नुहुन्न भने, अर्को पटक नराख्नुहोला।’

केन्द्रीय समितिका बैठकसम्बन्धी ‘ब्यानर’मा मदन भण्डारी, पुष्पलाल श्रेष्ठ र दुई छेउमा अध्यक्ष ओली र दाहालको फोटो राखेका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।