बेल्जियमकी राजकुमारी नेपाल आउँदै

काठमाडौं।बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आउने भएकी छिन्।

राजकुमारी एस्ट्रिड एक हप्ताको लागि नेपाल आउन लागेकी हुन्। उनी आउँदो ५ गते आइतबारदेखि ११ गते शनिबारसम्म नेपालमा बस्नेछिन्।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटघाट गर्नेछिन्। यस्तै उनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग पनि छुट्टाछुटै भेटघाट गर्ने कार्यतालिका रहेको छ।

राजकुमारी एस्ट्रिड कैलाली, नवलपरासी र चितवनको भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ। कैलालीमा उनले क्षयरोग सेन्टरको उद्घाटन समारोहमा सहभागी जनाउनेछन् भने त्यहाँका बिरामीहरुसँग पनि भेटघाट गर्नेछिन्।

त्यस्तै नवलपरासीको मिडपोइन्ट अस्पतालमा क्षयरोग र कुष्ठरोगका बिरामीहरुलाई समेत भेट्नेछिन्। उक्त अस्पतालमा उनकै अध्यक्षता रहेको बेल्जियमको गैरसरकारी संस्था डमियन फाउन्डेसनले सहयोग गर्दै आएको छ।

‌ओटावा कन्भेन्सनका लागि विषेश दूत समेत रहेकी एस्ट्रिड खानी उत्खनन् विरुद्ध अभियानमा समेत सामेल छिन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।