काठमाडौं। नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली इतरका नेताहरूको ‘गोप्य’ जमघट भएको छ। गोप्य भेटघाटमा सभामुख चयन र एमसीसीका विषयमा छलफल भएको बताईएको छ।

नेकपाभित्र अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच सभामुख चयनमा सहमति जुट्न सकस भइरहेका बेला भएको यो बैठकलाई अर्थपूर्ण मानिएको आजको अन्नपूर्ण पोष्टले समाचार लेखेको छ।
भैसेपाटीस्थित बामदेव निवासमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल सहभागी थिए। नेताहरूले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग परामर्श गरेरै उक्त बैठक राखेको जिकिर गरे पनि उक्त छलफलमा ओली र उनी पक्षधर भनी चिनिएका नेताहरू ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल गएनन्।
सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा भने चीन भ्रमणमा छन्। वरिष्ठ नेता खनालले बामदेव निवासमा जमघट भएको पुष्टि गर्दै पार्टी्िभत्रको आन्तरिक विषयमा सामान्य छलफल भएको प्रतिक्रिया दिए।