अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानमाथि आर्थिक प्रतिबन्ध

काठमाडौं।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि नयाँ आर्थिक प्रतिबन्धको घोषणा गरेका छन्।

नेपाली समयअनुसार बुधबार राति ह्वाइट हाउसबाट सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्। गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा परेर सैनिक कमान्डर कासिम सुलेमानी मारिएपछि राष्ट्रपति ट्रम्पको यो पहिलो आधिकारिक सम्बोधन हो।

ट्रम्पले इरानबाट भएको हमलामा अमेरिकी सेनालाई केही पनि नभएको बताए। ‘केही सामान्य क्षति भयो। कोही हताहत भएनन्।’ उनले भनेका छन्। इरानी सैनिक कमान्डरलाई पहिले नै मारिनुपर्ने पनि उनले बताए।

यस्तै उनले आफू रहेसम्म इरानला आणविक हतियार राख्न नदिनेसमेत बताए। यसबीच इरानले मंगलबार मध्यरात इराकस्थित दुई अमेरिकी सैन्य अखडामा दर्जन बढी मिसाइल हमला गरेको थियो। यसमा कोही पनि हताहत नभएको अमेरिका र इराकले दाबी गर्दै आएको छ।

इरानले भने ८० अमेरिकी सैनिक मारिएको दाबी गरेको छ। यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। यसअघि इरानका राष्ट्रपति हसन रूहानीले मध्यपूर्व क्षेत्रबाट सबै अमेरिका सेना हटाउने चेतावनी दिएका थिए।

इरानी सैनिक कमान्डर कासिम सुलेमानीको हत्याको बदलामा तेहरानको तर्फबाट यही नै अन्तिम जवाफ हुने राष्ट्रपति रूहानीको भनाइ छ। जनरल सुलेमानीले आइसिस, अल नुशराह र अलकायदाविरूद्ध बहादुरीका साथ लडेका थिए।

‘आतंकवादविरूद्ध उनले नलडेका भए युरोपेली राजधानीहरू अहिले ठूलो खतरामा हुन्थे।’ इरानी राष्ट्रपतिले बुधबार साँझ आफ्नो आधिकारिक ट्वीटमा भनेका छन्, ‘सुलेमानीको हत्याको बदलामा हामी यो क्षेत्रबाट सबै अमेरिकी सेनालाई खेद्नेछौं।’

इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले मिसाइल आक्रमण गरेर अमेरिकाको गालामा थप्पड हानेको बताएका थिए। बुधबार बिहान देशका नाममा सम्बोधन गर्दै खामेनीले मंगलबार मध्यरात इराकस्थित दुई अमेरिकी सैन्य अखडामा दर्जन बढी मिसाइलबाट हमला गरिएको जानकारी दिएका हुन्।

‘हिजो राति मिसाइल आक्रमण गरेर हामीले उनीहरूको गालामा थप्पड हान्यौं। तर सैन्य कारबाही मात्रले पुग्दैन,’ खामेनीले भने, ‘मध्यपूर्वमा भ्रष्ट अमेरिकाको उपस्थिति अन्त्य हुनुपर्छ। अमेरिका यहाँ आएर युद्ध, विभाजन र ध्वंशलाई बढावा दिइरहेको छ।’

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।