शिक्षक संघ भेरीगङ्गाको प्रतिनिधि सभा सम्पन्न

सुर्खेत। नेपाल शिक्षक संघ, भेरीगङ्गा नगरपालिकाको दोस्रो प्रतिनिधिसभा सम्पन्न भएको छ। छिन्चुबजारमा शनिवार सम्पन्न प्रतिनिधिसभामा नगरपालिका क्षेत्रको समग्र शैक्षिक विकासका लागी शिक्षामा सरोकार राख्ने सम्पूर्ण पक्षको महत्वपूर्ण भूमिका रहनेमा वक्ताहरूले जोड दिए।

सभाका प्रमुख अतिथि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्य दुर्गा शाक्यले आम शिक्षकहरूको हक हित संरक्षण र प्रवर्द्धनमा महासंघ विगत देखिनै निरन्तर लागिरहेको बताए। उनले वर्तमान स्थितिमा महाससंघ र सरकारबीच भएका सम्झौताहरूलाई पूर्णरूपमा सरकारले शिक्षा ऐनमा समेट्ने विश्वास राख्दै यदि बेवास्ता भए कडा आन्दोलन गर्न बाध्य हुने समेत बताए।

सभाका विशिष्ट अतिथि नेपाल शिक्षक महासंघका पूर्व उपाध्यक्ष झक बहादुर डाँगीले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका कार्यक्रमलाई अभियानकै रूपमा अगाडि बढाउनु पर्नेमा जोड दिए। उनले शिक्षकहरूले आफूले काम गर्ने विद्यालयलाई नमुनाका रूपमा विकास गर्नुपर्ने सुझाव दिए।

त्यसैगरी सभाका अर्का विशिष्ट अतिथि नेपाल शिक्षक संघ सुर्खेतका अध्यक्ष गोविन्दराज गिरिले सङ्घले जिल्लास्तरमा भएगरेका गतिविधिबारे जानकारी दिँदै सङ्गठन सुधारका लागी सबै उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताए। उनले अस्थायी, राहतजस्ता प्रकृतिका दरबन्दीमा कार्यरत शिक्षकहरूले अरुको भर नपरी शिक्षक सेवा आयोगको तयारमा तत्काल जुट्नका लागी अनुरोध गरे।

सभामा शुभकामना मन्तव्य राख्दै नेपाली काङ्ग्रेस सुर्खेतका सदस्य राम बहादुर सिंहले पार्टीको शुभेच्छुक संस्थाको रूपमा रहेको नेपाल शिक्षक सङ्घले स्थानीयस्तरमा पार्टीको सङ्गठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताए। उनले समग्र शैक्षिक क्षेत्रको विकासका लागी शिक्षक र पार्टीका नेताहरूवीच निरन्तर आपसी छलफल र अन्तरक्रिया गर्दै ठोस योजना निर्माण गरि अगाडि बढ्नुपर्नेमा त्यसो हुन नसकेकोमा चिन्ता व्यक्त गरे।

सामाजिक विकास समिति भेरीगङ्गाका संयोजक पदम खत्रीले वर्तमान अवस्थामा स्थानीय सरकार नगर क्षेत्रको शैक्षिक विकासमा संवेदनशील रहेको भन्दै नगरभित्रका शैक्षिक समस्याहरू समाधानका लागी नेपाल शिक्षक महासंघ र आवद्ध संघ सङ्गठनहरूसँग हातेमालो गर्दै अगाडि बढिरहेको धारणा राखे।

कार्यक्रममा नेपाल शिक्षक संघ सुर्खेतका महिला उपाध्यक्ष अम्बिका चपाई, ज्ञानपुञ्ज शैक्षिक सहकारी सुर्खेतका अध्यक्ष हिरामणि पोखरेल, नेपाल शिक्षक महासंघ भेरीगङ्गाका अध्यक्ष भुपेन्द्र बहादुर वली, नेपाली काङ्ग्रेस भेरीगङ्गाका सचिव हिरालाल खत्री लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए।

सभामा सङ्घका भेरीगङ्गा नगर कार्य समितिका अध्यक्ष भुपेन्द्र बहादुर सिंहले आर्थिक वर्ष २०७६ र ०७७ को नीति तथा कार्यक्रम पेश गरेका थिए। प्रतिनिधिसभाको सञ्चालन नगर कार्य  समितिका सचिव कुल बहादुर वलीले गरेका थिए।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।