काठमाडौं।राष्ट्रिय सभा उम्मेदवार चयन गर्न बसेको नेकपा सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ।

बिहीबार (आज)अपरान्ह ४ बजे शुरु भएको बैठक ४ घण्टा बसेर बिना निष्कर्ष टुंगिएको हो। शुक्रबार(भोलि) बिहान साढे ८ बजे पुनः बस्ने बैठकले राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंगो लगाउने जनाइएको छ।
“आगामी ९ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारबारे छलफल भयो, विभिन्न प्रस्तावमाथि छलफल गर्यौं, तर आज निष्कर्ष निकाल्न सकिएन, भोलि बिहान साढे ८ बजे बस्ने सचिवालय बैठकले उम्मेदवारको सूचीलाई अन्तिम रुप दिनेछ।’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।
राष्ट्रिय सभाका रिक्त पदका लागि ९ माघमा निर्वाचन हुँदैछ। रिक्त हुने १९ मध्ये १८ पदका लागि निर्वाचन हुने छ। एकजना भने राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार २० पुषमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने दिन तोकिएको छ।
फाइल तस्वीर