काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले माघको पहिलो साता भित्र उखु किसानको समस्या समाधान हुने बताएका छन्। बिहीबार राष्ट्रियसभामा जवाफ दिँदै उनले आन्दोलनरत उखु किसानलाई घर फर्किन आग्रह गरे।

मन्त्री भट्टले किसानको उधारो तिर्न उद्योगीहरूलाई सरकारले निर्देशन दिइसकेको जानकारी दिदैँ किसानहरूलाई घर फर्किन अनुरोध गरेका हुन्। उनले माघ पहिलो साता भित्र किसानका समस्या समाधान नभए आफू किसानले बोलाएको ठाउँ र समयमा उपस्थित हुने प्रतिवद्धता व्यक्त गरे।

मन्त्री भट्टले उखु किसानका सम्पूर्ण समस्या समाधान गर्न सरकार गम्भिर रहेको भन्दै किसानको रकम भुक्तानी नगरे उद्योगीको सम्पूर्ण कारोबार सरकारले रोक्का गर्ने बताए।

उद्योगीहरूबाट भुक्तानी नपाएको भन्दै उखु किसानहरू केही दिन देखि राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गर्दै आइरहेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।