संसद बैठक सूचना टाँसेर स्थगित

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक प्रभावित भएको छ। शुक्रबार १ बजेका लागि कार्यसूची समेत तय भइसकेको बैठक सूचना टाँसेर ६ दिनका लागि स्थगित भएको छ। अर्को बैठक पुस १६ गतेका लागि बोलाइएको छ।

सत्तारुढ नेकपामा सभामुख कसलाई बनाउने भन्नेमा विवाद छ। नेकपा अध्यक्ष पुष्पकमल प्रचण्ड बिहीबार चितवनबाट आउने र सभामुखको टुंगो लगाउने भनिएको थियो। तर प्रचण्डले काठमाडौं फर्किने कार्यक्रम रद्ध गरेपछि पार्टीमा छलफल हुन पाएन।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच सभामुखबारे छलफल हुने नेकपा स्रोतले जनाएको छ। दुई अध्यक्षबीच सभामुख कसलाई बनाउने भन्नेमा मतैक्य हुन सकेको छैन। प्रचण्डले सभामुख पार्टी एकीकरणअघि नै माओवादीले पाएकाले अबको सभामुख आफैंले प्रस्ताव गर्ने अडान राखेका छन्।

प्रधानमन्त्री ओली भने सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्छन्। अब संसद झनै पेचिलो बन्ने भएकाले आफूले भर गर्ने र संसदको नेता बन्न सक्ने व्यक्तिलाई सभामुख बनाउने प्रधानमन्त्रीको चाहना रहेको उनी निकट एक नेताले बताए।

प्रचण्डलाई सभामुख नछाड्न पार्टी्भित्रका पूर्वमाओवादीका केही नेताहरुको दबाब छ। प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउन खोजेको बताइन्छ। सभामुखको दाबेदारमा उपसभामुख तुम्बाहाम्फे, नेकपाका प्रमुख सचेतक देव गुरुङ र पम्फा भुसाल पनि छन्।

पार्टीले स्पष्ट निर्देशन नदिएपछि उपसभामुख तुम्बाहाम्फेको राजिनामा पनि सरेको छ। सभामुखमा टुंगो लागेर निर्वाचन प्रक्रिया अघि बढ्ने भएमा राजीनामा दिने उनको तयारी थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।