जहाँ स्वास्थ्यकर्मीले नै दिन्छन् बिरामीका लागि रगत 

खलङ्गा। जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नै यहाँका बिरामीलाई समय–समयमा रगत दिन बाध्य भएका छन्। कर्णाली प्रतिष्ठानमा रगत अभाव भएका बेलामा कर्मचारीसमेत काम लाग्ने गरेका छन्।

“प्रतिष्ठानमा निकै सिकिस्त बिरामी आउँछन्। रगत नपुग्दा मान्छेको ज्यान जोगाउनुपर्छ, रगत नपाइएको समयमा त्यसै टिक्न नसकिने भएकाले पटक–पटक रगत दिने गरेका छौँ”, प्रतिष्ठानको शल्यक्रिया थिएटरमा कार्यरत स्वास्थ्यकर्मी राजबहादुर खत्रीले भने। उनले अहिलेसम्म छ वर्षमा २५ पटक रक्तदान गरिसकेको बताए।

पातारासी गाउँपालिकाका–२ का रिउली बुढाको पाठेघर बाहिर बच्चा भएकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल शल्यक्रिया भयो। शल्यक्रियापछि रगत अभाव भएकाले रगत नभेटिएपछि आफूले रगत दिएको खत्रीले बताए। खत्रीजस्तै अस्पतालका धेरै स्वास्थ्यकर्मी र कर्मचारी रगत अभावको पीडामा छटपटाइरहेका बिरामीका लागि रक्तदाता भएका छन्। त्यहाँका चिकित्सकदेखि कार्यालय सहयोगीसम्मले मिल्ने रक्त समूह भएमा बिरामीको पीडालाई मध्यनजर गर्दै पटक–पटक रगत दिइरहेका देखिन्छन्। प्रतिष्ठानले ब्लड बैङ्कसमेत सञ्चालन गरेको छ।

आफ्नै ब्लड बैङ्क सञ्चालन गरेकाले केही सजिलो भएको प्रमुख विवेक पुन मगरले बताए। आजभोलि रगत खासै अभाव नभएको तर रगत दिएपछि राम्रो हँुदैन भन्ने मानसिकताले अस्पतालका कर्मचारीले बढी नै रगत दिने गरेको प्रयोगशाला इन्चार्ज पुनले जानकारी दिए। आफूले समेत १६ पटक रगत दिइसकेको पुनको भनाई छ। यसैगरी अस्पतालका प्राविधिक, प्रशासनिकदेखि सबै कर्मचारीले पटक–पटक रगत दिएर बिरामीको ज्यान जोगाउने काम भएको छ।

यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले समेत प्रतिष्ठानका बिरामीका लागि ब्लड बंैंक भएका छन्। कतिपय बिरामीलाई त स्थानीय प्रशासनका कर्मचारीले समेत रगत अभाव भएको समयमा रगत दिएको उदाहरण छन्। केही महिनाअघि प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले पनि रक्तदान गरेका थिए। एकपटक दिएको रगत ३५ दिनसम्म मात्रै मिति हुने भएकाले पनि समस्या हुने गरेको प्रयोगशाला प्रमुख पुनले बताए। सामाजिक अभियान तथा जनचेतना अभिवृद्धि गरेमा ब्लड बैङ्कमा रगत मौज्दात हुनसक्ने उनको भनाइ छ। कतिपय समयमा भने विभिन्न  अभियानमा रगत दिने समाजसेवी व्यक्तिसमेत भेटिन्छन्। पटक–पटक प्राज्ञिक विद्यार्थी परिषद्ले समेत रक्तदान गर्दै आएको छ। पछिल्लो समयमा परिषद्का नौ विद्यार्थीले अस्पताललाई रक्तदान गरिएको अगुवा शारदा पछाईँले बताइन। “प्रतिष्ठानमा ब्लड बैङ्क छ तर रगत दिनेहरूको संखया बढाउन जनचेतना गर्न आवश्यक छ”, उनले भनिन।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।